
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनप्रतिनिधिहरु राजनीतिको घेराबन्दीभन्दा माथि उठ्न जरुरी भएको बताएका छन् ।
लमजुङको बेँसीसहर नगरपालिका–७ मा गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा आयोजित दोस्रो पञ्चवर्षीय योजना तहसम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले भने, “हाम्रा धेरै योजना भोट केन्द्रित छन्, जनताले विकास महसुस गर्नेगरी काम गर्नुपर्छ ।” मुलुकले २०४८ सालपछि विकासमा फड्को मारेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले खानेपानी, शिक्षा, स्वास्थ्य, बिजुलीलगायत क्षेत्रमा विकास हुँदै गएको बताए ।
अहिले दुई ठूला पार्टीको सरकारले केही पनि गर्न नसकेको भनेर भ्रम फैलाउने काम भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले त्यसलाई चिरेर अघि बढ्नुपर्ने र यसका लागि योजनाबद्ध ढङ्गले काम गर्न जरुरी भएको बताए ।