
नेकपा माओवादी केन्द्रमा विशेष महाधिवेशनको विषय फेरि अलपत्र पर्ने भएको छ । पार्टीको रुपान्तरणका लागि लामो समयदेखि विशेष महाधिवेशनको माग भए पनि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नियमित महाधिवेशनको विषय राजनीतिक प्रस्तावमा उल्लेख गरेका हुन् ।
यस अघि स्थायी कमिटीको बैठकमा १४ पृष्ठको फरक मत पेश गर्दै उपमहासचिव जनार्दन शर्माले विशेष महाधिवेशन गर्नका लागि वर्तमान केन्द्रीय कमिटी भंग गर्न माग गरेका थिए । आफ्नो पुरानो प्रस्तावलाई बेवास्ता गरिए फेरि चुनौती दिने चेतावनी शर्माले दिएका थिए ।
तर आइतबार अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमा विशेष महाधिवेशनको कुनै कुरा नै उल्लेख छैन । बरु प्रचण्डले सोझै नवौं महाधिवेशन गर्ने विषय उल्लेख गरेका छन् ।
‘अब ६ महिना जनजागरण अभियान चलाएर नवौं महाधिवेशनको मिति तोकौं,’ प्रचण्डले प्रतिवेदनमा भनेका छन्, ‘अहिले नै महाधिवेशन तोक्ने कि यही केन्द्रीय कमिटीलाई आयोजक कमिटी मानेर महाधिवेशनको मिति तोक्ने भन्ने निर्णय गरेर जाऊँ ।’
फागुन १ देखि पहिले मेची महाकाली अभियान र त्यसपछि लोकमार्ग जनजागरण अभियान चलाएपछि मात्रै महाधिवेशनतिर जाने संकेत प्रचण्डले दिएका एक नेताले बताए ।
‘यस अघिदेखि नै विशेष महाधिवेशन गर्न तत्काल केन्द्रीय कमिटी भंग गरी अध्यक्षकै संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउनुपर्ने जनार्दन शर्मासहितको माग थियो । तर अध्यक्षले अभियान सकिएपछि मात्रै महाधिवेशनको तयारीमा जुट्ने आशय प्रतिवेदनमा गर्नुभएको छ,’ माओवादीका एक केन्द्रीय कमिटी सदस्यले भने, ‘तर शर्मासहितको मागको बेवास्ता गर्ने जस्तो देखिएको छ । यसले झन् टसल बनाउने देखेका छौं ।’
शर्माले यस अघिदेखि नै अध्यक्षसहितका पुराना नेता पार्टीको संरक्षक बन्नुपर्ने, नेतृत्वका लागि प्रत्यक्ष निर्वाचन गर्नुपर्ने, युवालाई पार्टीमा अवसर दिने नीति पास गर्नुपर्ने माग लिखित रूपमा गर्दै आएका थिए ।
तर अध्यक्ष प्रचण्डले यसपटक फेरि माओवादी घटकसहितका दलसँग पार्टी एकीकरणका विषय उठाएका छन् । पार्टी एकीकरण गर्ने बहानामा महाधिवेशन नगर्ने नियत देखिएको एक केन्द्रीय सदस्यले बताए । स्थायी कमिटीमा अध्यक्षको प्रस्तावमाथि छलफल भए पनि यसपटक केन्द्रीय पदाधिकारी, स्थायी कमिटीका सदस्यले पनि आफ्नो धारणा राख्न पाउने भएका छन् । यही क्रममा शर्माले आफ्नो धारणा राख्ने उनी निकट स्रोत बताउँछ ।
‘हाम्रोमा माअोवादी घटक र अन्य पार्टीसँग एकताको बहानामा महाधिवेशन टार्ने र नेतृत्वमा पुरानै नेताहरू हावी हुने क्रम चल्दै आएको छ,’ माओवादीका एक केन्द्रीय सदस्यले भने, ‘फेरि पनि केन्द्रीय कमिटी बैठकलाई परम्परागत बनाउन खोजेको आभास भएको छ ।’
तर माओवादीको मूल नेतृत्वले पार्टी नेतृत्वलाई खुइल्याउने नभई अभियान लिएर जनतामा जाने र पार्टीलाई बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेको छ । विशेष महाधिवेशन नभनी पालिका, जिल्ला, प्रदेश हुँदै महाधिवेशनको तयारीमा जानुपर्ने गरी अध्यक्षको प्रतिवेदन आएको एक नेताले जानकारी दिए ।
पछिल्लो सरकारमा सुशासनको लागि प्रभावकारी काम गरेको स्थानीय तहको उपनिर्वाचनमा माओवादीको प्रभाव देखिएकाले विवादभन्दा पार्टी निर्माणको विषयलाई तल्लो तहसम्म लानुपर्ने पक्षमा माओवादी नेतृत्व छ ।
आइतबार ११ प्रदेशबाट रिपोर्टिङ गर्दै नेताहरूले माओवादी १८/२० वर्षपछि सुधारको बाटोमा गएको भन्दै यसलाई अझै प्रभावकारी बनाउनुपर्ने रिपोर्टिङ गरेका थिए ।
यस अघि पार्टीले नै महाधिवेशन स्वीकारे पनि यसपटक फेरि नियमित महाधिवेशनको विषय ल्याइएको ती नेता बताउँछन् ।
काठमाडौंको धुम्बाराहीमा चलिरहेको बैठकमा प्रचण्डले आइतबार प्रस्तुत गरेको ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको सङ्कल्प : आजको आवश्यकता’ प्रस्तावमाथि सोमबार पनि केन्द्रीय सदस्यले धारणा राखिरहेका छन् । केन्द्रीय सदस्यले बोल्नका लागि तीन मिनेटको समय पाउनेछन् ।
आफ्नो यस अघिदेखिको माग सम्बोधन नभए फरक मत राखेरसमेत अगाडि बढ्ने तयारीमा जनार्दन रहेका उनी निकटका नेताहरू बताउँछन् ।