२३ जेठ २०८३, शनिबार

राष्ट्रको सिमाना रक्षा गर्न सरकार संवेदनशील छ : गृहमन्त्री

पुस २२, २०८१
काठमाडौं
राष्ट्रको सिमाना रक्षा गर्न सरकार संवेदनशील छ : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले सरकार राष्ट्रको भूमि र सिमानाको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन् । आफ्नो भूमिको सुरक्षा गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै उनले त्यसका निम्ति सरकार संवेदनशील भएर लागेको बताए । ​

राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले भारतीय नागरिकले कञ्चनपुरको शुक्लाफाँटाको जग्गामा खेतिपाती गरेको विषयलाई कूटनीतिक माध्यमबाट तत्काल समाधान गर्न सरकारले प्रक्रिया प्रारम्भ गरिसकेको जानकारी दिए ।

गृहमन्त्री लेखकले भने, 'कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने हाम्रो भूमि भारतीय नागरिकले भोगचलन गरिरहेको अवस्था छ । यसबारे सरकारलाई जानकारी छ, यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । समस्या समाधान गर्न कूटनीतिक छलफल पनि गरेका छौं ।'

उक्त क्षेत्रमा सीमासम्बन्धी विवाद नरहे पनि सीमास्तम्भ राख्नपर्ने आवश्यकता औंल्याउँदै गृहमन्त्री लेखकले द्विदेशीय संयन्त्रमार्फत सीमास्तम्भ राखिने भएकाले त्यसका निम्ति कूटनीतिक माध्यमबाट छलफल भइरहेको बताए ।

उनले भने, 'सीमासम्बन्धी द्विदेशीय संयन्त्रलाई पनि यस सम्बन्धमा ध्यानार्कषण गराइएको छ । हामी हाम्रो भूमिको रक्षा गर्छौं । समस्या पनि समाधान गर्छौं ।'

बैठकको प्रारम्भमा समिति सदस्यद्वय रघुजी पन्त र दिलेन्द्रप्रसाद बडूले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको जग्गा भारतीयले प्रयोग गरेको विषयमा गृहमन्त्रीको जवाफ माग गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्