०७ साउन २०८३, बिहीबार

युक्रेनको सुरक्षाको ग्यारेन्टी अमेरिकाले लिनुपर्छ : जेलेन्स्की

पुस २२, २०८१
काठमाडौं
युक्रेनको सुरक्षाको ग्यारेन्टी अमेरिकाले लिनुपर्छ : जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्नका लागि अमेरिकी सुरक्षा ग्यारेन्टी मात्र प्रभावकारी हुने जनाएका छन् । उनले अमेरिकाले सुरक्षा दिने ग्यारेन्टी भए मात्र मस्कोसँग युद्धविराम हुने अभिव्यक्ति दिएका हुन् । 

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहणपछि जेलेन्स्कीले यसबारे कुराकानी गर्न पाउने अपेक्षा राखेका छन् । 

आइतबार अमेरिकी पोडकास्टर लेक्स फ्रिडम्यानसँगको अन्तर्वार्तामा जेलेन्स्कीले भने, ‘युक्रेनी जनताले ट्रम्पले युद्ध रोक्न रुसलाई दबाब दिऊन् भन्ने आशा गरिरहेका छन् । यदि ट्रम्प उत्तर एटालान्टिक सन्धि संगठनबाट टाढा हुने हो भने रुसले युरोपमा आफ्नो सैन्य गतिविधि बढाउनेछ ।’

रुसले युक्रेन आक्रमण गरेको १ हजार दिन नाघिसकेको छ । अमेरिकामा ट्रम्पको पुनरागमन भएपछि युक्रेनले कूटनीतिक समाधान हुन सक्ने आशा गरेको छ । 

यससँगै रुसका राष्ट्रपति भ्लादिभिर पुटिनसँग ट्रम्पले कस्तो व्यवहार गर्लान् भन्ने संशय पनि युक्रेनमा छ ।  जेलेन्स्कीले युक्रेनका युरोपेली साझेदारको सैन्य क्षमता पर्याप्त नभएकाले पनि अमेरिकाले युक्रेनको सुरक्षाको ग्यारेन्टी लिनुपर्ने बताएका हुन् । 

जेलेन्स्कीले रुसका राष्ट्रपति पुटिन युद्ध रोक्न र दीर्घकालीन शान्तिका लागि वार्ता गर्न इच्छुक नरहेको आरोप लगाएका छन् । उनले पुटिनलाई युद्ध रोक्न र शान्ति सम्झौतामा पुग्न बाध्य पार्नुपर्ने आवश्यकता रहेको जोड दिएका छन् ।

अन्तर्वार्तामा जेलेन्स्कीले ट्रम्पको शपथ ग्रहण समारोहमा भाग लिने आफ्नो इच्छा रहेको बताएका छन् । 

‘मलाई निमन्त्रणा दिइयो भने म अवश्य पनि ट्रम्पको शपथ ग्रहणमा भाग लिन्छु’, अन्तर्वार्ताका क्रममा जेलेन्स्कीले भने ।

कमेन्ट गर्नुहोस्