
फलेवास, पर्वत, ३० कात्तिक (रासस) ः दुर्गम गाउँमा विद्यार्थी नभएर सामुदायिक विद्यालय धमाधम बन्द भइरहेका बेला पर्वतको सबैभन्दा दुर्गम मानिने महाशिला गाउँपालिका वडा नं १ होस्राङ्दीका बासिन्दा भने वर्षमा छ दिन श्रमदान र एक दिनको तलब विद्यालयलाई सहयोग स्वरुप प्रदान गर्दै आएका छन् ।
साविकको होस्राङ्दी गाविस वडा नं ५ को जम्पुरस्थित गोर्लाङधाम निम्न माध्यमिक विद्यालय सञ्चालनका लागि अभिभावकले वर्षमा एक दिनको तलब र प्रत्येक वर्ष छ दिन श्रमदान गर्दै आएका हुन् ।
नजिकैको विद्यालय बन्द भए डेढ घण्टा विद्यार्थी हिँडाउनुपर्ने समस्या नआओस् भनेर विद्यालयका लागि नियमित चन्दा र श्रमदानबाट सहयोग गर्दै आएको अभिभावक बताउँछन् । विद्यालयका लागि दिएको चन्दा र श्रमदानबाट निजी स्रोतका शिक्षकलाई तलब खुवाउन तथा विद्यालयको भवन बनाउने गरिएको छ । विद्यालयको क्षेत्रमा पर्ने होस्राङ्दीको ४, ५ र ९ वडाका बासिन्दाले घरमा सबैभन्दा बढी तलब हुने सदस्यको एक दिनको तलब विद्यालयलाई दिने गरेका छन् । यसबाट वर्षमा रु ५० हजारभन्दा बढी नगद संकलन हुने गरेको प्रधानाध्यापक चेतप्रसाद रानाले बताउनुभयो । “शिक्षकलाई तलब खुवाउन भनेर आफैँ महिना दिनको तलब बोकेर अभिभावक विद्यालय आउनुहुन्छ,” उहाँले भन्नुभयो – “अभिभावकको निरन्तरको मायाले नै विद्यालय चलेको छ ।”
निम्न माध्यमिक तहमा सरकारी शिक्षक संख्या कम भएका कारण निजीस्रोतमा शिक्षक राख्नुपरेको विद्यालयको भनाइ छ । निजी स्रोतमा सञ्चालन गरिएका कारण सर्वसाधारणबाट उठेको चन्दा र नगद सहयोगले चारजना प्राथमिक तहका शिक्षकलाई मासिक तलब दिने गरिएको छ । पन्ध्रजना शिक्षक कार्यरत रहेको यो विद्यालयमा सरकारले नौजना शिक्षकमात्रै दिएको छ ।
शिक्षकलाई तलब खुवाउन देउसी भैलो खेल्नेदेखि खेतमा धान लगाउने र आलुसमेत लगाउने गरिएको छ । चन्दा संकलन गरेर जम्मा भएको रु चार लाखभन्दा बढी नगद गाउँलेलाई सहुलियतमा दिइएको छ । यसबाट पनि विद्यालय सञ्चालनका लागि थप खर्च आउने गरेको प्रअ राना बताउनुहुन्छ ।
गाउँदेखि नजिकको माध्यमिक विद्यालय सूर्य मावि जानका लागि डेढ घण्टा लाग्छ । यसैले पनि निम्न माध्यमिक तहको पढाइका लागि गाउँबाट टाढा जान नपरोस् भनेर गाउँलेले अथक मेहनत गरेका छन् । सबै अभिभावक जम्मा भएर वर्षमा छ दिनका दरमा श्रमदान गर्दा विद्यालयमा धेरै भौतिक पूर्वाधारको विकास पनि भएको छ । “विद्यालयका लागि आवश्यक पर्ने भवन, फर्निचर निर्माण गर्दा अभिभावकले श्रमदान गर्दै आउनुभएको छ,” पूर्व प्रअ एकनारायण पौडेलले भन्नुभयो, “छोराछोरी पढ्न टाढा जान नपरोस् भनेर गाउँलेले अथक मेहनत गरेका छन् ।”