०२ असार २०८३, मंगलबार

२९ वर्षदेखि ओडारमा व्यापार, दैनिक १० हजारसम्म कारोबार

पुस २३, २०८१
रामेछाप
२९ वर्षदेखि ओडारमा व्यापार, दैनिक १० हजारसम्म कारोबार

दोलखाको तामाकोसी गाउँपालिका–५ का छत्रबहादुर कार्कीले २९ वर्षदेखि भोर्ले भिरको ओडारमा व्यापार गर्दै आएका छन् । 

विसं २०५२ मा देवीटारमा निर्माणाधीन खिम्ती जलविद्युत् आयोजनका लागि तामाकोसी हुँदै देवीटारसम्म कच्ची मोटरबाटोको सुविधा पुगेपछि रामेछाप र सिन्धुलीका मानिस यही बाटो भएर काठमाडौं ओहोरदोहोर गर्न थालेपछि उनले ‘चिया चमेना’को व्यापार शुरू गरेका थिए । 

तत्कालीन समयमा कार्कीले ओडारबाट शुरू गरेको व्यापार अहिले भने जस्ताको छानो हालेर परिमार्जन गरेका छन् । ६४ वर्षीय कार्कीले पाँच छोरी र दुई छोरासहित नौ जनाको परिवारको पालपोषण यही ओडारको पसलबाट भएको आम्दानीबाट गरिरहेको बताए । 

जीविकोपार्जनमा समस्या भएपछि भारतको सिलगुढीमा १८ वर्षसम्म ज्याला मजदूरी गरेर केही रकम लिई उनी स्वदेश फर्किएका थिए । सोही बेलादेखि शुरू गरेको ओडारको पसल अहिले उनीहरूको सहज रूपमा जीविकोपार्जन भइरहेको छ । ओडारको पसलमा किराना सामान, चिया, खाजा र अनुरोध भएमा खानासमेत खुवाउने व्यवस्था भएको कार्कीले जानकारी दिए । 

'त्यसबेला यहाँ लगाएको वरपीपल अहिले सित्तल बस्ने चौतारो बनेको छ भने बाँसका झाङ फैलिँदै गइरहेका छन्, केरा,' उनले भने । 

चार/पाँच आना जग्गामा गरेको उब्जनीले तीन महिना पनि खान नपुग्ने भएपछि विकल्पको खोजीमा यहाँ आइपुगेको कार्कीले बताए । यही व्यापारबाट तामाकोसी–५ मा छ आना जग्गा किनेर भूकम्प प्रतिरोधी दुईकोठे कच्ची घर बनाएको उनले बताए । 

सबै छोराछोरीको विवाह गरिसकेका कार्की आफ्नी ६२ वर्षीया श्रीमती डम्बरकुमारीको साहारमा पसल चलाउने र घरायसी काम गर्ने गर्छन् । 'पाँच छोरीको विवाह गरेर आआफ्नो घर पठाइसकें, दुई छोरामध्ये जेठोको पनि विवाह भइसक्यो, कान्छो काठमाडौंमा छ,' उनले भने । 

पसलबाट शुरूआती चरणमा दैनिक दुई हजार पाँच सयदेखि १० हजारसम्म व्यापार हुने गरेको बताउँदै कार्कीले ग्राहकले आधुनिक बसाइ, खाना खोज्नाले अहिले दैनिक पाँच–छ सयको मात्र बिक्री हुने गरेको बताए । 

गत असोजमा १२ गते आएको बाढीका कारण रोशी खोलाले बिपी राजमार्ग अवरुद्ध पारेपछि काठमाडौंबाट रामेछाप, दोलखा, सोलु र सिन्धुलीका विभिन्न भागमा आउनेजाने सवारीसाधन पुष्पलाल मार्गबाट सञ्चालन हुँदा आफ्नो व्यापार बढेको कार्कीले बताए । बिपी राजमार्ग सञ्चालनमा आई खुर्कोटको पुलसमेत बनेपछि पुनःव्यापार घटेको उनको भनाइ छ । 

विसं २०७२ को भूकम्पले समेत ओडारमुनिको पसलमा कुनै क्षति नपुगेको उनले बताए । 'पटकपटक वडा र पालिकाले भूकम्पको जोखिम भएकाले यहाँ नबस्न अनुरोध गरिरहेका छन् । लामो समयदेखि यही बसेर व्यापार गरेको र केही संरचना पुनःनिर्माण गरिसकेका यहाँबाट अन्यत्र जान सकेको छैन,' उनले भने ।

ओडारमा अहिले पनि बिजुली बत्ती नजोडिएको भन्दै कार्कीले पटकपटक प्रयास गरे पनि ऐलानी जग्गामा विद्युत् प्राधिकरणले खम्बा र मिटर नदिएको गुनासो गरे । 'मैले रोपेको बाँसमध्ये सात झाँङ फस्टाएर अएकाले बिक्री गर्नेबेला भएको छ । वर, पीपल ठूला भएर सित्तल बस्ने चौतारो बनिसकेको छ । केरा आँटी, अम्बालगायत फलफूलहरू फल्न लागिसकेका छन् । यो ठाउँ छाडेर काहीँ जान मन लाग्दैन,' कार्कीले भने । स्थानीय सरकारले विद्युत्को व्यवस्था गरिदिए व्यापार गर्न सहज हुने उनको भनाइ छ । 

प्रायजसो निजी सवारीसाधनमा यो सडक मार्ग भएर ओहोरदोहोर गर्ने  मानिस यहाँको पसलमा चिया, खाजा खाएर कार्कीसँग कुराकानी गरेर मात्र गन्तव्यतर्फ लाग्ने गर्दछन् । रासस

salt training

कमेन्ट गर्नुहोस्