०२ असार २०८३, मंगलबार

सडक फराकिलो पार्न दरवाङवासी आफैंले पेटी र टहरा भत्काए

पुस २३, २०८१
म्याग्दी
सडक फराकिलो पार्न दरवाङवासी आफैंले पेटी र टहरा भत्काए

मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक फराकिलो पार्न स्वःस्फुर्त रूपमा पेटी र टहरा भत्काएका छन् । 

मालिका गाउँपालिकाको केन्द्रसमेत रहेको दरवाङ बजारको सडक स्तरोन्नति योजनामार्फत् सडक फराकिलो पार्न स्थानीयवासीले संरचना भत्काएर सघाएका हुन् । 

मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले योजना प्रभावित क्षेत्रका बासिन्दा आफैँ अग्रसर भएर पेटी र टहरा भत्काएर योजना कार्यान्वयनमा सहज बनाएका बताए ।

सडक विस्तार र स्तरोन्नतिका क्रममा प्रभावित क्षेत्रका घरधनीको अवरोध र विवादका कारणले प्रभावित भएको अवस्थामा दरवाङको तल्लो बजारका बासिन्दाले उदाहरण प्रस्तुत गरेका उनले बताए । हाल तीन दशमलव पाँच मिटर फराकिलो सडकलाई पाँच दशमलव पाँच मिटर फराकिलो बनाउन दायाँबायाँका संरचना हटाएका हुन् । 

दरवाङ बजारको अर्को टोलमा पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित सडक विस्तार आयोजना प्रभावित क्षेत्रका केही घरधनीको विवादका कारण प्रभावित बनेको छ । 

मालिका गाउँपालिकाले चालु आर्थिक वर्षमा ४९ लाख बजेट विनियोजन गरेको दरवाङ बजार बाटो स्तरोन्नति योजनाअन्तर्गत हाल सडक फराकिलो बनाउने, नाली र टेवा पर्खाल निर्माणको काम भइरहेको उपभोक्ता समितिका सचिव कृष्णप्रसाद आचार्यले बताए ।  

हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलुङ्गे पुलतर्फ सडकको दायाँ र बायाँ करिब चार सय मिटर लामो नाली निर्माणको काम थालिएको सचिव आचार्यले बताए । पक्की नाली निर्माण भएपछि ढलान र कालोपत्र गरेर अर्को वर्ष सडकलाई पक्की बनाउने योजना छ । तीन सय बढी घर रहेको दरवाङ बजारको अन्य टोलमा यसअघिका वर्षमा पक्की नाली र सडक निर्माण भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्