
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आठौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक एकता र विजयको बैठक भएको बताएका छन् ।
पार्टीको तीन दिनसम्म चलेको बैठकको अन्तिम सत्रलाई सम्बोधन गर्दै उनले यो ऐतिहासिक र दूरगामी महत्त्वको बैठक भएको बताएका हुन् ।
बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एकरूपता कायम गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई फेरि आफ्नो वर्ग र समुदायतिर फर्काएर यसले विजयको आधार तयार गरेको बताए ।
बैठकका निर्णय कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिका लागि कोशेढुंगा बन्ने र यसले निरन्तरतामा क्रमभङ्ग गरेको उनले प्रस्ट्याए ।
अर्को एक प्रसङ्गमा अध्यक्ष प्रचण्डले एकै दिन शुरू भएर एकै दिन सकिएको माओवादी केन्द्र र एमालेको बैठकलाई देश दुनियाँले हेरेर मूल्यांकन गर्ने अवसर पाएको उल्लेख गरे । आफ्नो पार्टीले अरुलाई गालीगलौज नभई देशकै आगामी मार्गचित्र स्पष्ट गरेको दाबी गरे ।
दुवै पार्टीका बैठकबाट जनताले माओवादी र एमालेमा को सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा छ ? भन्ने बुझ्न पाएको उनले दाबी गरे ।
‘एमालेले विवादित विषयमा आलोचना गर्नेमाथि कारबाही र निष्कासन गरेर बैठकको शुरूआत गर्यो भने हामीले पार्टीभित्र उठेका मतलाई देशैभरि परामर्श बैठकमार्फत उच्च लोकतन्त्रको अभ्यासमार्फत बैठक आयोजना गरेर उच्च जनवादको अभ्यास गरेका छौं,' अध्यक्ष प्रचण्डले भने, ‘यी दुई पार्टीका बैठकबाट एमालेलाई बुर्जुवा पुँजीवादी पार्टी र माओवादी केन्द्रलाई वैचारिक निष्ठासहितको समाजवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीको रुपमा थप स्थापित गर्ने अवसर प्राप्त भयो ।’
अध्यक्ष प्रचण्डले अब अभियानमार्फत व्यापकरूपमा जनताको बीचमा गएर महाधिवेशनमा जाने बताए ।