
सहकारीको रकम अपचलन प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दोस्रोपटक बयान लिएको छ ।
ललितपुर महानगरपालिका-५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी सेभिङ एन्ड क्रेडिट को–ओपरेटिभको रकम अपचलन प्रकरणमा गुरुङसँग सीआईबीले फेरि बयान लिएको हो ।
यसअघि गत कात्तिक २८ गते सीआईबीले उनीसँग पाँच घण्टा बयान लिएको थियो । मंगलबार पनि पाँच घण्टा नै बयान लिइएको सीआईबीका प्रवक्ता, एसपी होविन्द्र बोगटीले जानकारी दिए ।
मितेरी सहकारीको १४ करोड रूपैयाँ हिनामिना प्रकरणमा धनराज पनि जोडिएका छन् । सहकारीको प्रमुख कार्यकारी अधिकृतसमेत रहेकी धनराजकी तत्कालीन श्रीमती ज्योति गुरुङको नाममा सहकारीबाट १ करोड १३ लाख ऋण प्रवाह भएको पाइएको छ । साथै पछि ८४ लाख थप भएको देखिएको हो ।
ज्योतिले १ करोड १३ लाख तिरेको देखिए पनि ८४ लाखको दायित्व धनराजले लिएका थिए ।
यही विषयमा सीआईबीले गुरुङसँग बयान लिएको हो । बयानका क्रममा गुरुङले आफू सीआईबीलाई पूर्ण रूपमा सघाउन तयार रहेको बताए । त्यसकै लागि बयानमा उपस्थित भएको उनको भनाइ थियो ।
गुरुङले आफूले सहकारीको एक रूपैयाँ अपचलन नगरेको दोहोर्याए । प्रहरीले माग्ने सबै प्रमाण उपलब्ध गराउने भन्दै उनले अपचलनमा आफ्नो कुनै भूमिका नरहेको दाबी गरेको सीआईबीका एक अधिकृतले बताए ।
‘म यहाँ तपाईंहरूलाई सहयोग गर्न आएको हुँ । सीआईबी मात्र होइन राज्यका कुनै पनि निकायलाई अनुसन्धानमा सघाउन तयार छु । जे जे माग्नुहुन्छ सबै प्रमाण दिन तयार छु’, गुरुङको बयान उद्धृत गर्दै ती अनुसन्धान अधिकारीले भने ।
सहकारीमा बचतकर्ताले राखेको रकम अपचलन भएकोबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले आफ्नो बारेमा सत्य तथ्य नबुझी अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको गुरुङको दाबी छ ।
‘मैले सहकारीको ऋण तिरिसकेको छु । डिभोर्स गरिएकी श्रीमतीसँग अहिले मेरो बोलचाल र फोन संवाद समेत छैन,’ गुरुङले बयानमा भने, ‘यस्तो अवस्थामा मलाई छानबिन गर्नुपर्छ भन्नु नै गलत हो, तर म अनुसन्धानमा सहयोग गर्छु भनेरै बयान दिन आएको हुँ ।’
धनराज र ज्योतिबीच सम्बन्ध विच्छेद हुँदा ज्योतिले सम्पति नलिने र धनराजले सहकारीको ऋण तिर्ने सहमति गरेकी थिइन् । यसअघिको बयानमा उनले आफू सार्वजनिक जीवन र पार्टीमा समेत मुख देखाउन नमिल्ने अवस्थामा पुगेको बताएका थिए ।
‘सहकारीका कारण न श्रीमती रहिन्, न घर रह्यो । पार्टीमा समेत मुख देखाउन नमिल्ने बनाइदियो,’ कात्तिक २८ गतेको बयानमा उनले भनेका थिए, ‘म अहिले दुईवटा कोठा भाडामा लिएर बस्छु । सहकारीले ९१ लाख तिर्न लगायो ।’
धनराज र ज्योतिबीच २०७६ फागुन २९ मा डिभोर्स भएको थियो । ज्योति र धनराजमाथि प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय हेटौंडामा उजुरी परेको थियो । उक्त उजुरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा आएको भन्दै थप अनुसन्धान गरी शीघ्र कानूनी कारबाही अघि बढाउन समितिले सिफारिश गरेको हो ।
ज्योतिविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी भइसकेको छ । २०५७ देखि उक्त सहकारीको कर्मचारी रहेकी ज्योति २०७५ मा कार्यकारी प्रमुख समेत भएकी थिइन् ।
उनको नाममा सहकारीबाट १ करोड १३ लाख रूपैयाँ ऋण प्रवाह भएको थियो । त्यसमध्ये ८४ लाख रूपैयाँ आफूले तिर्ने गरी डिभोर्स भएको धनराजको दाबी छ । सीआईबीसँगको बयानमा पनि उनले उक्त शर्तबमोजिम आफूले सहकारीको रकम तिरिदिएको उल्लेख गरेका छन् ।