काठमाडौँ, ४ माघ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति एवम् प्रधानमन्त्री मोहमद बिन रसिद अल मोक्तुमबीच भेटवार्ता भएको छ ।

आज दिउँसो स्वदेश फर्कनु अघि दुवईमा भएको भेटमा प्रधानमन्त्री दाहाल र उपराष्ट्रपति मोक्तुमबीच दुइपक्षीय हित र आपसी सम्बन्धबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भेटमा प्रधानमन्त्रीले दुबईको जेलमा रहेका नेपाली कामदार अमरबहादुर बमलाई आममाफीसहित नेपाल पठाउने व्यवस्था गर्न उपराष्ट्रपति समक्ष विशेष आग्रह गरेका थिए ।
प्रधानमन्त्रीको आग्रहपछि उपराष्ट्रपति मोक्तुमले आफूले तत्कालै राजदूतलाई बोलाएर यसबारे प्रक्रिया अगाडि बढाउने जानकारी दिएका थिए ।
भेटमा प्रधानमन्त्रीले भने , “नेपालमा सगरमाथा जस्ता प्राकृतिक उच्च टावर छन्, तपाईहरुले विश्वमै सबैभन्दा उच्च मानव निर्मित टावर बनाएर देखाउनु भएको छ । यो विश्वकै लागि उदाहरणीय छ । दुई ठूला टावरको बीचमा राम्रो कनेक्सन भयो भने दुई देशकै लागि महत्वपूर्ण उपलब्धि हुन सक्छ, यसमा नेपाल युएईसँग सहकार्य गर्न चाहन्छ ।”