
गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानून संशोधन गरेको बताएका छन् ।
शनिबार नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री लेखकले सरकारले बढी मूल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लिएको बताउँदै मुलुकमा उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए ।
‘हिजो राति अबेरसम्म बसेर (मन्त्रिपरिषद् बैठक) सरकारले महत्त्वपूर्ण निर्णयहरू गरेको छ’, उनले भने, ‘हामीले समृद्धि र आर्थिक विकासका लागि केही महत्त्वपूर्ण कानूनलाई संशोधन गरेका छौं ।’
चाँडोभन्दा चाँडो कानून संशोधनका लागि अध्यादेशमार्फत संशोधन गर्ने सरकारले निर्णय लिएको उनको भनाइ छ । ‘शासकीय सुधारसँग सम्बन्धित कानूनहरू, उद्योग व्यवसाय सहज सञ्चालन हुने कानूनहरू र सुशासनलाई प्रत्याभूत गर्ने कानूनहरू छन्’, गृहमन्त्री लेखकले भने, ‘उद्योगहरूको वातावरण निमार्णका लागि सरकारले हमेशा नीजि क्षेत्रसँग मिलेर काम गर्न तयार छ ।’
उनले मुलुकमा लगानीको वातावरण बनाउन गैरआवासीय नेपालीका निमित्त महत्त्वपूर्ण निर्णय गरेको समेत बताए । ‘आईटीको क्षेत्रमा विदेशमा समेत सेवा निर्यात गर्न सक्ने व्यवस्था गरेका छौं’, उनले भने, ‘विदेशमा सेवा गरेर उद्योगलाई प्रोत्साहित हुने गरि कानून निर्माणमा सरकार लागेको छ ।’
कानून बन्ने तर कार्यान्वयन नहुने समस्यालाई सरकारले सचेततापूर्वक निर्णय गरेको उनको भनाइ छ । ‘सात दिनभित्र हुने भए हुन्छ, नहुने भए हुँदैन भन्ने निर्णय गरिसक्नुपर्ने कानून बनाएका छौं’, गृहमन्त्री लेखकले भने । उनले सरकारले आर्थिक समृद्धिको बाटोमा देशलाई लैजान कानून निर्माण गरेर कार्यान्वयन गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको गृहमन्त्री लेखकले बताए ।