
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले वर्तमान सरकारको उद्देश्य सत्ता प्राप्ति बाहेक केही पनि नरहेको टिप्पणी गरेका छन् ।
नेकपा एकीकृत समाजवादी रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकलाई सम्बोधन गर्दै महासचिव भुसालले सत्ताको स्वार्थसँग जोडिएर बनेको सरकारले केही काम गर्न नसक्ने बताए ।
कांग्रेस र एमालेले संविधान संशोधनको कुरा सत्तामा पुग्नका लागि मात्रै गरिएको बताए । ‘संविधानको कुरा या त नसोचेर ल्याए, या त झुक्याउन ल्याए,’ उनले भने ।
संविधान सन्तुलित रहेकाले संशोधन गर्न दुई दलमात्रै मिलेर सम्भव नै नरहेको उनले बताए । ‘हाम्रो संविधान भयङ्कर सन्तुलन छ, यो संविधान संशोधन कांग्रेस र एमालेले चाहेर मात्रै सम्भव नै छैन,’ महासचिव भुसालले भने ।
केपी शर्मा ओली नेतृत्वको सरकारले केही काम पनि गर्न नसक्ने उनको दाबी छ । ‘एउटा भारतसँग रिसाएको छ, कांग्रेसलाई बीआरआईको नाम लिनेबितिकै ज्वरो आएको छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय राजनीतिले पनि गर्दैनन्, यी दुई दलले केही पनि गर्दैनन् ।’
उनले वर्तमान सरकार विभिन्न काण्डहरूको स्वार्थसँग जोडिएकाले सत्ता जोगाउने बाहेक केही नगर्ने बताए ।
सरकारले रास्वपाका सभापति रवि लामिछानेको सन्दर्भमा एकै ठाउँमा मुद्दा चलाए हुनेमा बढी दुःख दिएको भान जनताले गरेको उनको भनाइ छ ।