
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विभिन्न २४ वटा क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले क्याम्पस प्रमुख नियुक्त गरेको प्रवक्ता एमन सिंह बोहराले जानकारी दिए ।
छनोट समितिले गरेको सिफारिसका आधारमा शंकरदेव, नेपाल कमर्स, पृथ्वीनारायणसहितका क्याम्पसमा प्रमुख नियुक्ति गरिएको जनाइएको छ ।
००००
चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको गएराति समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
००००
नेपालले भारतबाट दुई लाख मेट्रिक टन गहुँ आयात गर्ने भएको छ । व्यापार, पारवहन र सहकार्य सम्बन्धी भारत–नेपाल अन्तरसरकारी समिति (आईजीसी)को बैठकमा भारतीय पक्षले नेपालको अनुरोध स्वीकृत भएको जानकारी गराएको हो ।
००००
सरकारले एकैपटक १३ जना सचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकको निर्णयअनुसार उनीहरुको सरुवा गरिएको हो । यस्तै २ जना सहसचिवहरुको पनि सरुवा भएको छ ।
००००
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले पछिल्लो पाँच वर्षमा रु एक खर्ब सात अर्ब ६६ करोड २७ लाख ८९ हजार अनुदान प्रवाह गरेको बताएका छन् ।
आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आर्थिक वर्ष २०७६–७७ देखि २०८०–८१ सम्म मन्त्रालयबाट अनुदान लिने कृषि सहकारी, कृषि समूह तथा कृषि फार्महरूका नाम पनि सार्वजनिक गरे । मन्त्री अधिकारीले कृषि सहकारी समूहले रु २० अर्ब ३० करोड ३० लाख १४ हजार अनुदान लिएको जानकारी दिए ।
००००
काठमाडौँ महानगरपालिकाले पुरानो बसपार्कस्थित काठमाडौँ भ्यूटावरको नक्सा पास निष्क्रिय गरेको छ ।
आइतबार एक सूचना जारी गर्दै महानगरले काठमाडौँ भ्यूटावरको नक्सा पासको सम्बन्धमा छानबिन समितिको प्रतिवेदन प्राप्त भएर निर्णय नभएसम्मका लागि भवनको नक्सा पास निष्क्रिय रहेको जनाएको हो ।
उक्त भ्यूटार निर्माणमा ढिलाइ हुँदै आएको छ भने पटक पटक विवाद समेत हुँदै आएको छ ।
००००
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाममा ‘फेक विज्ञप्ति’ भाइरल भएको छ । यसबारे भ्रम सिर्जना भएपछि कांग्रेसले स्पष्ट पार्न विज्ञप्ति नै जारी गरेको छ ।
‘नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धनको सरकारका बारे अन्योल सृजना गरी नेपाली जनतालाई दिग्भ्रमित गर्ने कुत्सीत मनसायबाट नेपाली कांग्रेस पार्टी सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य विभिन्न सामाजिक सञ्जालहरूमा सम्प्रेषित भएकोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
००००
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयलाई स्पष्टीकरणको जवाफ पठाएका छन् ।
मन्त्रालयले गत हप्ता सोमबार सोधेको ९ बुँदे स्पष्टीकरणको जवाफ आइतबार नै मन्त्रालय पठाएका हुन् । उनले जवाफमा कार्यसम्पादन सम्झौताअनुसार नै आफूले काम गरेको बताएका छन् ।
००००
महान्यायाधिवक्ताको कार्यालयले आर्थिक वर्ष २०८०–०८१ मा फैसला भएका मुद्दामध्ये ६८ दशमलव २७ प्रतिशत सफलता हासिल गरेको जनाएको छ ।
महान्यायाधिवक्ताको कार्यालयले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेपछि आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।
००००
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका अभियुक्त रवि लामिछाने पुनः प्रहरी हिरासतमा बसेका छन् ।
आइतबार काठमाडौं जिल्ला अदालतमा बयान सकिएर थुनछेक बहस शुरू नभएपछि लामिछानेलाई न्यायिक हिरासतमा पठाउने आदेश भएको हो । सोमबार उनको थुनछेक बहस हुनेछ ।
००००
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक २५ दशमलव ४१ अङ्कले घटेर दुई हजार छ सय नौ दशमलव ६७ विन्दुमा कायम भएको हो ।
००००
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रदेश सरकारको भूमिका र आवश्यकताबारे प्रश्न गरेका छन् ।
आफूलाई भेट्न आएका बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका प्रमुख सचिव डा हरिप्रसाद लम्सालसँगको कुराकानी उनले यस्तो बताएका हुन् ।
‘स्थानीय सरकारका समस्या संघीय सरकारसँगै भन्नुपर्ने भए प्रदेश सरकार किन चाहियो?, उनको प्रश्न छ ।
००००
नेपाल बार एसोसिएसनले न्याय परिषद् सदस्यका लागि वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई पठाउने निर्णय गरेको छ ।
एसोसिएसनकी महासचिव अञ्जिता खनालका अनुसार बारको बैठकबाट वरिष्ठ अधिवक्ता खड्कालाई परिषद् सदस्य पठाउने सर्वसम्मत निर्णय भएको हो ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलश्रोत तथा सिँचाइ विभागका तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
ठेकेदारहरूसँग मिलेमतो गरी कमिसन लिएको आरोपमा उनीविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
००००
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने भएको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले माघ ७ गते दिउँसो २ बजेका लागि अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला कानूनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।