
एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी लिग (एनकेएल) का लागि ‘टाइटल स्पोन्सर’ को रुपमा केबी सामलाई भित्र्याएको छ । फ्रेन्चाइज टिमको अवधारणामा आयोजित प्रतियोगिता अब ‘केबी साम नेपाल कबड्डी लिग’को नामले सञ्चालन हुनेछ । नेपाली कबड्डीमा हालसम्मकै सबभन्दा ठूलो प्रतियोगिताको रुपमा केबी साम एनकेएलको पहिलो संस्करण दशरथ रङ्गशालास्थित कभर्डहलमा आगामी शुक्रबार सुरु हुँदैछ ।
जहाँ छ सहरका छ वटा टिमले राउन्ड रोबिन लिग र नकआउट चरण गरी यही माघ १८ गतेसम्म प्रतिस्पर्धा गर्नेछन् । यसै प्रतियोगिताको टाइटल स्पोन्सरको सम्झौता एक कार्यक्रमबीच आज भयो । टाइटल स्पोन्सरको सम्झौतापत्रमा केबी साम एनकेएलको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानी र केबी सामका मार्केटिङ एन्ड सेल्सका प्रमुख रुपेश थापाले हस्ताक्षर गरे ।
एस्ट्रोनिक्स म्यानेजमेन्टले एनकेएलका लागि केबी साम आल्मुनियम उत्पादक कम्पनीसँग तीन वर्षे सम्झौता गरेको हो । सम्झौताअनुसार केबी सामले वार्षिक रु ७५ लाख एनकेएललाई दिनेछ । यो रकम नेपाली खेलकुद इतिहासकै चौथो ठूलो रकम हो । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट, सहिद स्मारक ‘ए’ डिभिजन लिग र सूर्य नेपाल गल्फ टुरपछिको सबैभन्दा ठूलो प्रायोजन हो । वीरगञ्जमा कारखाना रहेको केबी सामले २५ वर्षयता देशका सबै जिल्लामा आल्मुनियमको व्यवसाय गर्दै आएको छ ।