
गोरखा १ मंसिर– पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराइले कांग्रेससँगको सहकार्यलाई प्रतिक्रान्ती र अवसरवाद भन्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग नैतिकता नभएको बताएका छन् । उनले नेपाली कांग्रेससँगको सहकार्य देशको विकास र समृद्धिका लागि भएको र यसको रणनीतिक महत्व रहेको दावी पनि गरे ।
‘कांग्रेससँगको सहकार्यलाई प्रतिक्रान्ती र अवसरवाद भन्ने ? यदी यसो हो भने हिजो कांग्रेससँग मिलेर भरतपुरमा अनेक हतकण्डा अपनाएर छोरी जिताउनु के हो ? कांग्रेससँग मिलेर सरकार बनाउनु के हो ? लाज पचाएर विनाविभागीय मन्त्री भएर तलब भत्ता खानु के हो ?’ शुक्रवार गोरखाको घैरुङमा आयोजित चुनावी सभालाई सम्वोधनगर्दै नेता भट्टराइले भने । यसअघि गोरखामा बिहीवार आयोजित कार्यक्रममा प्रचण्डले भट्टराईको आलोचना गरेका थिए ।
उनले आफूलाई अस्थिर भनेकोमा पनि आपत्ति जनाए । ‘मलाई केही साथीहरूले अस्थीर भन्नुभएछ । हिजो राजतन्त्रका विरुद्ध म अडिग रहँदा राजतन्त्र गयो । अब देशको विकास र समृद्धिका लागि नरक जान परे पनि तयार छु । देशको विकास र समृद्धिका लागि म गतिशील भएको हो अस्थीर हैन’ उनले भने ।
विन्सटन चर्चिलको भनाइ स्मरण गर्दै भट्टराईले भने, ‘बाटोमा भुक्ने सबै कुकुरलाई ढुंगा हान्दै बस्यो भने गन्तव्यरलक्ष्यमा पुगिँदैन । म त्यसरी ढुंगा हान्न लाग्दिन आफ्नो बाटोमा हिँडिरहन्छु, तपाईंहरु पनि भुक्ने कुकुरको पछि नलागी आफ्नो काममा लाग्नुस ।’
नेपालका कम्युनिस्ट केन्द्र निर्माण सम्भव नभएको र नहुने कुरा र आफैंले छोडिसकेको कुरा भनेर प्रचण्डले जनतालाई भ्रममा पारिरहेको आरोप लगाए ।