
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायती संसद्को नेपाल हेर्ने सर्वदलीय संसदीय समितिका अध्यक्ष अलेक्स बेकरसँग भेटवार्ता गरेका छन् । बेलायत भ्रमणमा रहेका नेता कोइरालाले लण्डनस्थित नेपाली राजदूतावासमा आज बेकरसँग भेटवार्ता गरेका हुन् ।

भेटमा नेता कोइरालाले भूतपूर्व गोर्खा सैनिकहरूको सेवासुविधासम्बन्धी समस्याको समाधान हुनुपर्ने र ब्रिटिस एअरवेजको लण्डन-काठमाडौं सिधा हवाई उडान हुनुपर्ने कुरा उठाएको उनको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार कोइरालाले जलवायु परिवर्तनका कारण नेपाल संकटमा परेको स्मरण गर्दै हिउँ पग्लेर हिमालहरू कुरूप बनिरहेको सुनाए । जलवायु परिवर्तनका कारण नेपालले बेहोरिरहेको भन्दै नेपालले क्षतिपूर्ति पाउनुपर्ने र त्यसका लागि बेलायतले सहयोग गरिदिनुपर्ने उनले बताए ।

बेकरले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । भेटघाटमा बेलायतका लागि कार्यबाहक राजदूत विपिन दुवाडी पनि थिए ।
कोइरालाले आजै बिहान बेलायती कन्जरभेटिभ पार्टीका नेता जेम्स क्लेभर्लीसँग भेटघाट गरेका थिए ।
कोइरालाले यसअघि बुधबार तत्कालीन शान्ति प्रक्रियामा निकै महत्त्वपूर्ण भूमिका खेलेको अनमिनका नेपाल प्रमुख इयान मार्टिनसँग भेटघाट गरेका थिए ।