
प्युठानको झिमरूक गाउँपालिकाले अविवाहित र एकल महिलालाई भत्ता दिने भएको छ ।
गाउँपालिकाबाट भत्ता पाउने एकल महिला सरकारी सेवा सुविधा तथा अरु कुनै सामाजिक सुरक्षा भत्ता नलिएकाको लागि गाउँपालिकाले मासिक भत्ताको व्यवस्था गरेको हो ।
गाउँपालिकाभित्रका ४५ वर्षको उमेरसम्म पनि विवाह नगरी बसेका तथा १२ वर्षदेखि श्रीमान बेपत्ता भई बसेका, लैंगिक हिंसामा परी विवाहित वा अविवाहित रूपले एक्लो जीवन व्यतीत गरिरहेका महिलाहरूका लागि भत्ता दिने निर्णय गरिएको झिमरूक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर थापाले जानकारी दिए ।
उनीहरूलाई चालु आर्थिक वर्षको माघदेखि मासिक एक हजार रूपैयाँ भत्ता दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ । अविवाहित एकल महिलाहरूको लगत संकलन गर्ने काम भइरहेको छ ।
पालिकाले अविवाहित एकल महिलाको वैकल्पिक व्यवस्था नभएसम्मका लागि भत्ता दिने र उनीहरूलाई सीपमूलक कार्यक्रममा समावेश गरी आयआर्जनका क्रियाकलापमा जोड दिइने नीति पालिकाले लिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले अविवाहित, एकल, सम्बन्ध विच्छेद र लैंगिक हिंसामा परी विवाहित वा अविवाहित रूपले एक्लो जीवन व्यतीत गरिरहेका एकल महिलाहरूको अभिभावकत्व ग्रहण गर्ने उद्देश्यले पालिकाले सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरिएको बताए।