
इजरायल र हमासबीच लामो समयदेखि चलिरहेको विनाशकारी युद्ध अन्त्यका लागि ऐतिहासिक युद्धविराम सम्झौता भएको छ । सम्झौताले युद्धका कारण गम्भीर मानवीय संकट झेलिरहेका लाखौं मानिसलाई राहत दिने अपेक्षा गरिएको छ ।
कूटनीतिक प्रयासको फलस्वरूप यो सम्झौता सम्भव भएको हो, जसमा अमेरिका, कतार र इजिप्टको महत्त्वपूर्ण भूमिका रहेको एसोसिएटेड प्रेसले जनाएको छ ।
सम्झौताका तीन चरण
युद्धविराम सम्झौतामा तीन प्रमुख चरण समेटिएका छन्, जसमा युद्ध स्थगनदेखि मानवीय सहायता, बन्धकहरूको रिहाइ र पुनर्निर्माणसम्मका विषय छन् ।
सम्झौताको पहिलो चरणअन्तर्गत तत्काल युद्ध रोकिनेछ । यससँगै, इजरायलको नियन्त्रणमा रहेका सयौं प्यालेस्टिनी कैदी र हमासद्वारा अपहरण गरिएका दर्जनौं बन्धकको आदानप्रदान हुनेछ ।
पहिलो चरणमै मानवीय सहायताका लागि राहत सामग्री बोकेका सयौं ट्रक गाजामा पठाइने छन् । पहिलो चरणअन्तर्गत ६ हप्तासम्म हिंसात्मक गतिविधिमा पूर्णविराम लगाउने सहमति गरिएको छ ।
दोस्रो चरणमा बाँकी रहेका बन्धकको रिहाइ र इजरायली गाजाका घना बस्तीबाट फिर्ता हुने विषय समेटिएको छ । यस चरणमा महिला, वृद्ध र घाइते बन्धकहरूलाई प्राथमिकताका साथ रिहा गरिनेछ । यससँगै दीर्घकालीन युद्धविरामका लागि थप वार्ता सञ्चालन गरिने बताइएको छ ।
युद्धविरामको अन्तिम चरणमा गाजाको पुनर्निर्माण थालिनेछ । युद्धले ध्वस्त भएको पूर्वाधार पुनर्निर्माण गर्न अन्तर्राष्ट्रिय सहायताको समन्वय गरिने सम्झौतामा उल्लेख छ ।
त्यस्तै, स्थानीय प्यालेस्टिनी नेतृत्वलाई सशक्त बनाउने र गाजामा स्थिर प्रशासन स्थापना गर्ने प्रयास तेस्रो चरणमा गरिने बताइएको छ ।
सम्झौता कसरी सम्भव भयो ?
कतारको राजधानी दोहामा महिनौंसम्म चलेका जटिल वार्ताका क्रममा यो सम्झौता सम्भव भएको हो । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले युद्धविरामको घोषणा गर्दै दुवै पक्षले राम्रो मनसाय प्रदर्शन गरे मात्र सम्झौता सफल हुने बताएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले सम्झौतालाई सफल बनाउन दृढ कूटनीति लागू गरिएको भन्दै यो सम्झौता अमेरिकी विदेश नीतिको उपलब्धि रहेको बताए ।
सम्झौतापछि जारी गरेको एक वक्तव्यमा उनले भनेका छन्, 'यो सम्झौता तबसम्म कायम रहन्छ जबसम्म दुवै पक्ष वार्तामा संलग्न रहिरहनेछन् ।'
सम्झौताकाचुनौती
सम्झौताका केही बुँदाहरूमा अझै विवाद कायम रहेको एपीले जनाएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले प्यालेस्टिनी कैदीको सूची पुष्टि नभएसम्म सम्झौताको अन्तिम स्वरूप स्वीकृत गर्न नसकिने बताएका छन् ।
नेतान्याहूले हमासलाई पहिलेको सहमतिअनुसार मात्र सम्झौता कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
अर्कोतर्फ, हमासले यो सम्झौतालाई गाजाका जनताको साहस र बलिदानको परिणाम भएको दाबी गरेको छ ।
सम्झौताले उत्पन्न गरेका आशा र प्रश्नहरू
यो युद्धविरामले गाजाका विस्थापित लाखौं नागरिकलाई राहत प्रदान गर्ने अपेक्षा गरिएको छ । गाजाका ९० प्रतिशत जनता विभिन्न स्थानमा विस्थापित भएका छन् र युद्धका कारण हजारौं घर ध्वस्त भएका छन् ।
गाजामा यतिबेला आशा र खुसीको माहोल छ । बेत लहियाका एक वृद्ध अबेद रदवानले यो सम्झौता भएको दिन आफ्नो जीवनकै सबैभन्दा राम्रो दिन भएको बताएका छन् ।
इजरायल र गाजामा रहेका बन्धक परिवारहरूले सम्झौताको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न अपिल गरिरहेका छन् ।
त्यस्तै, सम्झौताले दीर्घकालीन शान्ति कायम गर्ला भन्नेमा अझै पनि कतिपयले आशंका गरिरहेका छन् ।
हमासले गाजाबाट इजरायली सेना पूर्ण रूपमा हटाउनुपर्ने अडान कायमै राखेको छ ।
इजरायलले भने हमासको सैन्य संरचना नष्ट गर्न युद्ध जारी राख्ने चेतावनी दिएको छ । त्यस्तै पुनर्निर्माणमा नेतृत्व कसको रहने भन्नेबारे अझै अस्पष्टता छ ।
यो युद्धविराम सम्झौता इजरायल-हमास युद्ध अन्त्य गर्न ठूलो कदम हो । तर, दीर्घकालीन शान्तिका लागि ठोस उपायहरू अपनाउनुपर्ने आवश्यकता कायमै रहेको दुवै पक्षले बताउने गरेका छन् ।
दुवै पक्षको मनसाय र अन्तर्राष्ट्रिय समुदायको समर्थनले मात्र यो सम्झौता पूर्ण रूपमा सफल हुन सक्ने एपीले जनाएको छ ।