०२ साउन २०८३, शनिबार

पूर्व र वहालवाला सञ्चारमन्त्रीको चुनावी भिडन्त, सजिलो छैन कांग्रेसका बस्नेतलाई ?

मंसिर १, २०७४
पूर्व र वहालवाला सञ्चारमन्त्रीको चुनावी भिडन्त, सजिलो छैन कांग्रेसका बस्नेतलाई ?

कुबिण्डे (सिन्धुपाल्चोक), १ मंसिर– पहिलो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै सिन्धुपाल्चोकमा चुनावी रौनक बढ्दै गएको छ ।

जिल्लाको दुई क्षेत्रमध्ये प्रतिनिधिसभा क्षेत्र नंं १ मा वाम गठबन्धनका तर्फबाट पूर्व सञ्चारमन्त्री अग्निप्रसाद सापकोटा र लोकतान्त्रिक गठबन्धनबाट सञ्चारमन्त्री मोहनबहादुर बस्नेत चुनावी प्रतिष्पर्धामा भएकाले पनि अहिले यो क्षेत्र विशेष चर्चामा छ ।

चुनाव आउन १० दिन मात्र बाँकी हुँदा चोक चोक र चिया पसलमा मतदाताबीच मतको अंकगणीय लेखाजोखासमेत हुन थालेको देखिन्थ्यो ।

निर्वाचन नजिकिएसँगै उम्मेदवारद्य भने बौद्धिक बहस र विकासे एजेण्डामा भन्दा एकअर्काप्रति आक्रामक शैलीमा प्रचारमा व्यस्त छन् । अहिले दुवै उम्मेदवारले एक अर्कालाई भ्रष्टाचारीका चेलासमेत भन्न भ्याइसकेका छन् । एक अर्कालाई गाली गरेरै मतदातालाई आकर्षित गर्न उनीहरु भड्किलो प्रचार शैलीमा व्यस्त छन् ।

सापकोटा २०६४ को पहिलो संविधानसभा तथा दोस्रो २०७० मा सिन्धुपाल्चोक २ बाट निर्वाचित भएका हुन् भने बस्नेत २०५६ को आम निर्वाचन तथा २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक १ बाट निर्वाचित भएका थिए । अहिले निर्वाचन क्षेत्र गाभिएसँगै दुवै नेता पहिलोपटक आमने सामने भएका छन् ।

सजिलो छैन बस्नेतलाई

बस्नेत सिन्धुपाल्चोकमा निक्कै परिचित छन् । बस्नेतको तुलनामा सापकोटा कम परिचित छन् । यसअघिका दुईवटा संविधानसभा निर्वाचनमा सापकोटाले प्रतिनिधित्व गर्दै आएको तत्कालीन क्षेत्र नं. २ को आधा भूगोल मात्र अहिले यो क्षेत्रमा मिसिएको हुँदा आधा भूभागले उनलाई खासै चिन्दैन ।

तर, स्थानीय चुनावमा वडाध्यक्षले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने यहाँ वाम गठबन्धन निकै बलियो छ । भोटेकोसी, लिसंखुपाखर, बलेफी, जुगल, त्रिपुरासुन्दरी, सुनकोसी गाउँपालिका, बाह्रबिसे र चौतारा नगरपालिका–२, ३, ४, ९ र १० वडा समेटिएको यो क्षेत्रमा वाम गठबन्धनसँग ४४ हजार ७६ मत छ । एमालेले २४ हजार १८८ र माओवादी केन्द्रले १४ हजार ३८८ मत ल्याएको थियो ।

लोकतान्त्रिक गठबन्धनका पक्षमा भने ३० हजार ५५५ मत देखिन्छ । स्थानीय निर्वाचनमा कांग्रेसले २१ हजार ६२९ र राप्रपाले आठ हजार ९२६ मत पाएको तथ्यांक छ । यसरी हेर्दा लोकतान्त्रिकको तुलनामा वाम गठबन्धनसँग अझै १३ हजार ५२१ मत बढी छ । त्यसकारण पनि चर्चामा रहेका बस्नेतलाई चुनाव जित्न सजिलो छैन ।

मन्त्री बस्नेत भने यो मान्न तयार छैनन् । उनले रासससँग भने, ‘विकासका हिसाबले मैले धेरै काम गरेको छु, मेरो जित सुनिश्चित छ ।’

जिल्लामा बस्नेत छैटौँ पटक र सापकोटा चौथौपटक चुनावी युद्धमा छन् । तर, दुईबीचको चुनावी भीडन्त भने पहिलो हो ।

गठबन्धनका कारण ‘जित सुनिश्चित’

यसैगरी उम्मेदवार सापकोटाले भने, ‘स्थानीय तहको मतको विश्लेषण गर्दा पनि हामी १० देखि १५ हजार मतान्तरले जित्छौँ । हाम्रो जित सुनिश्चित छ ।’

कुबिण्डेका बासिन्दासमेत सापकोटाले बीस वर्षमा काँग्रेस कुबिण्डे पस्यो भनेर भन्नु प्रचारको शैली मात्र भएको उल्लेख बताए ।

‘कुबिण्डेमा पहिलो पटक काँग्रेस पस्यो भनेर अहिले जुन हल्ला फिजाइएको छ त्यो विल्कुलै गलत हल्ला हो , मओवादी शान्ति प्रक्रियामा आएपछि भएको पहिलो संविधानसभा २०६४ साल,दोस्रो संविधानसभा निर्वाचन २०७० र गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा समेत काँग्रेसले उक्त ठाउँमा प्रचार प्रसार गरेको र स्थानीय तह निर्वाचनमा उक्त वडामा माओवादीले एक हजार ६८ मत ल्याएर विजयी हुँदा काँग्रेसका उम्मेदवारले १२० मत प्राप्त गरेको छ,’ सापकोटाले भने, ‘अहिले आएर यसो भन्नु राजनीतिक यो प्रपोगण्डा मात्रै हो ।’

बिगतका निर्वाचनमै दलका नेता, तथा उम्मेदवारहरुले गरेको बाचा एउटै पूरा नभएपछि स्थानीयवासीमा आक्रोश छ । गाउँमा खानेपानीको समस्या छ, सिँचाइको सुविधा छैन,’ स्थानीय सीता माझीले भनिन्, ‘यसपालि हाम्रो वाचा पूरा गर्नेलाई भोट दिने हो ।’

salt training

कमेन्ट गर्नुहोस्