
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप सातवटै प्रदेशमा पठाएको छ ।
‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा खोप नेपाल आएपछि सबै प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले जानकारी दिए। उनले सबै, १७ लाख ७० हजार २० मात्रा खोप नेपाल आइसकेको बताए ।
निर्देशक डा रायमाझीका अनुसार गाभीले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपीभी खोप निःशुल्क उपलब्ध गराएको हो ।
संघीय सरकारले यही माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई खोप लगाइने जनाएको छ ।
कुन प्रदेशमा कति खोप?
महाशाखाका निर्देशक डा रायमाझीले कोशी प्रदेशमा दुई लाख ७५ हजार १८० मात्रा, मधेशमा तीन लाख ८० हजार ४६०, बागमती हेटौँडाका लागि एक लाख २५ हजार ८००, बागमती भक्तपुरका लागि दुई लाख १८ हजार २८० मात्रा पठाइसकिएको जानकारी दिए ।
गण्डकी प्रदेशमा एक लाख ३० हजार ८७० मात्रा, लुम्बिनीमा दुई लाख ९८ हजार ९१० मात्रा, कर्णालीमा एक लाख २४ हजार ४०० मात्रा र सुदूरपश्चिममा एक लाख ८७ हजार १२० मात्रा खोप पठाइएको छ । प्रदेशले खोपलाई सुरक्षित भण्डारण गर्ने र आ-आफ्नो जिल्लामा पठाउने उनले बताए ।
उक्त खोप एक मात्रा लगाएपछि पुग्ने महाशाखाका निर्देशक डा रायमाझीले जानकारी दिए । उनका अनुसार नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ ।
पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरसको संक्रमण रहेकाले त्यसका विरुद्ध खोप लगाउनुपर्ने डा रायमाझीले बताए । नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर र त्यसपछि स्तन क्यान्सर रहेको छ ।