
बलिउड अभिनेता सैफ अलि खानमाथि भएको आक्रमणबारे अभिनेत्री स्वरा भास्करले प्रतिक्रिया जनाएकी छिन्।
उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै यस घटनालाई दुःखद् र चिन्ताजनक भनेकी छिन्। साथै, उनले सैफको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छिन्।
सामाजिक सञ्जालमा सक्रिय रहने स्वरा भास्कर आफ्नो विचार स्पष्ट रूपमा राख्ने गर्छिन्। इन्स्टाग्रामको स्टोरीज सेक्सनमा पोस्ट गर्दै उनले लेखेकी छिन्, ‘सैफ अलि खानमाथि भएको आक्रमण अत्यन्तै चिन्ताजनक र दुःखद् छ। उहाँ सुरक्षित हुनुहुन्छ र उहाँको अवस्था स्थिर छ भन्ने सुनेर केही राहत महसुस भयो। यो सम्पूर्ण परिवारका लागि पीडादायी समय हो। उहाँहरूलाई शक्ति र साहस मिलोस् र सैफ सर छिट्टै स्वस्थ हुन सकून् भन्ने कामना गर्दछु।’
स्वराभन्दा अघि सैफकी पत्नी र अभिनेत्री करिना कपूरले पनि इन्स्टाग्राम पोस्टमार्फत प्रतिक्रिया जनाएकी थिइन्। उनले लेखेकी थिइन्, ‘यो हाम्रो परिवारका लागि अत्यन्तै चुनौतीपूर्ण दिन रह्यो । र, हामी अझै पनि भएका घटनाहरूलाई बुझ्ने प्रयास गरिरहेका छौं। यस कठिन समयमा म सम्मानपूर्वक र नम्रतापूर्वक सञ्चारमाध्यम र फोटोग्राफरहरूलाई निरन्तर कभरेज र अड्कलबाजीबाट टाढा रहन आग्रह गर्दछु।’
उनले लेखेकी छन्, ‘हामी तपाईंको चिन्ता र समर्थनको प्रशंसा गर्छौं । तर, यो लगातार निगरानी र ध्यानले हाम्रो मानसिक थकान मात्र बढाउँदैन । यसले हाम्रो सुरक्षामा पनि ठूलो जोखिम सिर्जना गर्छ। म तपाईंहरूलाई आग्रह गर्छु कि तपाईं हाम्रो सीमाको सम्मान गर्नुहोस् र हामीलाई परिवारका रूपमा यो समयलाई स्वीकार गर्ने र सम्हाल्ने स्थान दिनुहोस्। म यस संवेदनशील समयमा तपाईंको बुझाइ र सहयोगका लागि अग्रिम धन्यवाद दिन चाहन्छु।’
भारतीय सञ्चार माध्यमका अनुसार बिहीबार बिहान चोरीको उद्देश्यले घरमा पसेका एक व्यक्तिले धारिलो हतियारले अभिनेता सैफ अलि खानमाथि आक्रमण गरेका थिए। यस आक्रमणमा अभिनेता खान घाइते भएका छन्।
त्यसपछि उनलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ । जहाँ उनको शल्यक्रिया सम्पन्न भएको छ । अभिनेता सैफको स्वास्थ्यबारे उनको टिमले अब उनी खतरामुक्त रहेको जनाएको छन् । सैफको घाउबाट करिब तीन इन्च लामो धारिलो वस्तुको टुक्रा निकालिएको छ ।