२२ जेठ २०८३, शुक्रबार

सशक्त वैकल्पिक शक्ति निर्माणको बहसमा छौं, बालेनलाई पनि समेट्न कोसिस हुन्छ- भीम रावल

माघ ४, २०८१
काठमाडौं
सशक्त वैकल्पिक शक्ति निर्माणको बहसमा छौं, बालेनलाई पनि समेट्न कोसिस हुन्छ- भीम रावल

मातृभूमि जागरण अभियान घोषणा गरेका पूर्व एमाले नेता भीम रावलले सशक्त वैकल्पिक शक्ति निर्माणको क्रममा काठमाडौं महानगरका मेयर बालेन शाहलाई समेत समेट्न कोसिस गर्ने बताएका छन् । राष्ट्रहितको पक्षमा रहेका जो कोहीलाई आफ्नो अभियानमा समेट्ने उनले बताए । 

शुक्रबार बिहान धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै रावलले दलीय भागबण्डा अन्त्य गरेर देशलाई सही दिशा दिन विभिन्न शक्तिसँग छलफल गर्ने बताएका हुन् ।

‘विराटनगरबाट बराह क्षेत्रमा जाँदा एमाले कार्यकर्ताको गाडीमा गएको थिएँ, त्यहाँ कोही समाजवादी र  कोही पूर्व राजावादी युवा थिए होलान् । यहाँ पनि हिजो कांग्रेस र एमालेका होलान्’, रावलले भने, ‘मातृभूमि जागरण अभियानको समर्थन गर्दा विगतमा कता थियो भनेर हेरिँदैन । सशक्त वैकल्पिक शक्ति निर्माणका लागि रूपरेखा तयार गरेका छौं । देशको हित चाहने जो कोहीलाई हामी समेट्छौँ । राजनीतिक दलको नाममा जताततै भागबण्डा गरेर खाने, यस्तो कुरालाई रोक्नु् पर्छ भन्ने बालेनजी लगायत सबैलाई एकजुट गरेर राष्ट्रको हितमा अगाडि बढाए राम्रो हुन्थ्यो भन्ने सबैको आवाज छ ।’

रावलले पहिलो पटक बालेनसँग पनि सहकार्य गर्ने उच्चारण गरेका हुन् । 

नेकपा एमालेबाट निष्काशनमा परेपछि रावलले मातृभूमि जागरण अभियानको घोषणा गरेका थिए । पूर्वी नेपालमा जाँदा पूर्व राजावादीसँग सम्पर्क गरेको आरोप रावलमाथि लागेको थियो । त्यसलाई खण्डन गर्दै रावलले राष्ट्रहितको पक्षमा रहेका जो कोही आफ्नो अभियानमा समेटिने बताए । 

काठमाडौंबाट धनगढी जाँदा रावल एमाले पोलिटब्युरो सदस्य कर्ण थापासँग जहाजको एउटै सीटमा थिए । थापा सुदूरपश्चिमका प्रभावशाली नेता हुन् । 

salt training

कमेन्ट गर्नुहोस्