३० जेठ २०८३, शनिबार

नेपाल वायुसेवा निगमको सुरक्षा व्यवस्थापन तालिम सम्पन्न

माघ ४, २०८१
काठमाडौं
नेपाल वायुसेवा निगमको सुरक्षा व्यवस्थापन तालिम सम्पन्न

नेपाल वायुसेवा निगमका कार्यकारी तहका कर्मचारीहरूका लागि अनिवार्य आवश्यक पर्ने सुरक्षा व्यवस्थापन प्रणाली (Safety Management System–SMS)सम्बन्धी तालिम सम्पन्न भएको छ।

गत पुस २७ गते सम्पन्न तालिममा निगमका कार्यकारी अध्यक्षसहित विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो । 

तालिममा निगमको सबलता, कमजोरी, अवसर र चुनौतीहरूको विश्लेषण तथा समयसीमा सहितको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजनामा छलफल भएको थियो ।

प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले निगमका विभागीय प्रमुखहरूले प्रस्तुत गरेका कार्ययोजनालाई गम्भीरतापूर्वक लिएको बताएका थिए । ती योजनाहरूको समाधान र कार्यान्वयनमा मन्त्रालयको सधैं साथ रहने उनले प्रतिवद्धता जनाए । 

निगमले व्यावसायिक योजना र निर्णयहरूलाई राजनीतिक प्रभावबाट मुक्त राख्न सक्नुपर्ने उनले बताए । अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीजस्तै व्यावसायिकरूपमा अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

मन्त्री पाण्डेले योजनाहरू तयार गर्न मात्र नभएर समयमै कार्यान्वयन गर्नुपर्ने जोड दिए ।

कार्यक्रममा मन्त्रालयका सह–सचिव तथा निगमका सञ्चालक समिति सदस्य रामकृष्ण लामिछाने र मन्त्रालयका अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सहभागीहरूलाई स्वागत गरेका थिए ।

कार्यक्रममा सहसचिव रामकृष्ण लामिछानेले निगमले प्रस्तुत गरेका कार्ययोजना प्रभावकारी रहेको बताए । सबै पक्षले इमान्दारीपूर्वक काम गरे मात्र प्रगति सम्भव हुने उनको विश्वास छ ।

उनले मन्त्रालयबाट गरिनुपर्ने कामहरूमा सधैं सकारात्मक सहयोग रहने प्रतिवद्धता जनाए ।

राष्ट्रिय ध्वजावाहकको रूपमा व्यावसायिक गुणस्तर बढाउँदै अघि बढ्न सबै कर्मचारीहरूको एकताबद्ध योगदान अपरिहार्य रहेको निगमको निष्कर्ष छ । 

निगमले अन्य तहका कर्मचारीहरूलाई पनि आवश्यकताअनुसार तालिम दिँदै आइरहेको छ।​

nullnullnull

salt training

कमेन्ट गर्नुहोस्