०९ साउन २०८३, शनिबार
सरसर्ती २४ घण्टा

तस्करीमा माओवादी नेताको संलग्नतादेखि जीबी राईको राहदानी रद्द गर्न आदेशसम्म

माघ ५, २०८१
काठमाडौं
तस्करीमा माओवादी नेताको संलग्नतादेखि जीबी राईको राहदानी रद्द गर्न आदेशसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रतिपक्षी राजनीतिक दलहरूले सरकारको निरङ्कुश र स्वेच्छाचारी प्रवृत्तिप्रति आपत्ति जनाउँदै संसद्को हिउँदे अधिवेशन तत्काल आह्वान गर्न माग गरेका छन्।

माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै वर्तमान सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको दाबी गरेका हुन् ।
००००
नेकपा माओवादी लगायत संसद्का ७ विपक्षी दलले निर्वाचन कानून संशोधन गरेर थ्रेसहोल्डको प्रतिशत बढाउने तयारीप्रति आपत्ति जनाएका छन् ।

माओवादी, रास्वपा, राप्रपा, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र नेपाल समाजवादी पार्टीले संयुक्त विज्ञप्ति प्रकाशित गरी थ्रेसहोल्डका नाममा दुई दलीय तानाशाही लाद्ने तयारी गरिएको भन्दै आपत्ति जनाएका हुन् । 
००००
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीको पहलमा मधेशकेन्द्रित दलहरू मोर्चाबन्दीमा लागेका छन् ।
संसदभित्र र बाहिरका मधेशकेन्द्रित दलहरूबीच न्यूनतम् साझा बिन्दुमा लूज एलायन्स बनाउने समझदारी भएको हो ।

माघ १ गते धुम्बाराहीस्थित एक होटलमा बसेको मधेशकेन्द्रित दलहरूको वार्ता समिति बैठकले सो समझदारी जुटाएको त्रिपाठीले बताए ।
००००
रास्वपा सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको तस्वीर सार्वजनिक गर्ने डा निकोलस भुसालविरुद्ध विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ । 

शुक्रबार कास्की जिल्ला अदालतमा जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो । 

न्यायाधीश शंकरबहादुर राईको इजलासले डा भुसाललाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ । सरकारी वकिल कार्यालयले एक लाख जरिवाना र पाँच वर्षको कैद सजायको मागदाबी गरेको थियो ।
००००
साताको पहिलो दिन आइतबार २६३५.०९ बिन्दुमा खुलेको शेयर बजार यस साता २५८८.६२ को बिन्दुमा बन्द भएको छ ।
पुस २८ देखि माघ ३ गतेसम्ममा नेप्से परिसूचक ४६.४७ अंकले घटेर २५८८.६२ को बिन्दुमा बन्द भएको हो ।
००००
कास्की जिल्ला अदालतले गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीश हिमाल बेलबासेको इजलासले राईको राहदानी रद्द गर्न राहदानी विभागलाई आदेश दिएको हो ।
००००
चितवन प्रहरीले सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगीसम्बन्धी अनुसन्धान प्रतिवेदन बुझाएको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रतिवेदनमा पहिलेका १७ र पछि रवि लामिछानेसहितका १४ गरी ३१ जनाका साथै ७ कम्पनीलाई प्रतिवादी बनाउन सिफारिश गरिएको छ ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी नेताहरूले गैरकानूनी ढंगले सम्पत्ति आर्जन गरेको देखिए कारबाही गर्ने बताएका छन् ।

शुक्रबार साँझ विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले केन्द्रीय सदस्यहरूलाई सम्पत्तिको स्रोत देखाउन पनि आग्रह गरे ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका कोशी प्रदेश  सभापतिमाथि कारबाहीको डण्डा चलाएको छ । 

पार्टीले सभापति राजेश तिम्सिनालाई निलम्बन गरेको हो ।  पार्टी केन्द्रीय अनुसन्धान आयोगका प्रमुख भरतमणी देवकोटाले तिम्सिनालाई निलम्बन गरिएको जानकारी दिए ।
००००
प्रहरीले मंगलबार बरामद गरेको ४३१ किलो रक्तचन्दनसम्बन्धी अनुसन्धानका क्रममा सिन्धुपाल्चोकका माओवादी नेता ज्ञानबहादुर तिमल्सिनाको भूमिका खुलेको छ । 

तिमिल्सिना नेकपा माओवादी केन्द्र बलेफी काठमाडौं सम्पर्क समितिका उपाध्यक्ष हुन् । गत असोजमा भएको समितिको दोस्रो सम्मेलनबाट उनी उपाध्यक्षमा निर्वाचित भएका थिए । 

प्रहरीले तिमल्सिनासँगै कलंकी बस्ने रमेश थापालाई पनि पक्राउ गरेको थियो । पेप्सीकोलामा रहेको तिमल्सिनाको डेरामा बोराभित्र लुकाइराखेको अवस्थामा रक्तचन्दन फेला परेको थियो ।
००००
गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउने प्रक्रिया अघि बढाएको छ ।

जसका लागि सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारको नाममा ल्याउने प्रस्ताव गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पठाइएको छ ।
००००
स्थानीय बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ३ सय र चाँदी ५० ले बढेको छ ।

बिहीबार प्रतितोला १ लाख ५६ हजार ६ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ५७ हजार ९ सयमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्