
पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुरमा नेपाल-भारत सुरक्षा बैठक सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीचको डीआईजी स्तरीय समन्वयात्मक बैठकमा सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण, सीमा स्तम्भहरूको मर्मत तथा सम्भार, दशगजा क्षेत्रमा हुने अतिक्रमणलगायतका विषयमा छलफल भएको थियो।
वसन्तपुरस्थित लुम्बिनी केबलकारको माथिल्लो स्टेसनमा रहेको कामाख्या मन्दिर परिसरमा भएको बैठकमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ विन्ध्याबासनी बाहिनी मुख्यालयले आयोजना गरेको छैठौं समन्वयात्मक बैठकले दशगजा क्षेत्र अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरू संयुक्त प्रयासद्वारा हटाउने, दशगजा क्षेत्रको सरसफाइ तथा सौन्दर्यकरण गर्ने निर्णय गरिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीपकुमार पालले जानकारी दिए ।
बैठकले मानव तस्करी, अपहरण, नक्कली मुद्रा, हातहतियार, गोलिगठ्ठा, लागूऔषध तथा प्रतिबन्धित औषधिलगायत अवैध वन्यजन्तु तस्करी नियन्त्रण, गैरकानूनी रूपमा प्रवेश गर्न खोज्ने तेस्रो देशका नागरिकहरूको नियन्त्रण तथा रोक लगाउने विषयमा विस्तृत रूपमा छलफल गरी दुई देशका सीमा सुरक्षा निकटबीच समन्वय र सहकार्य बढाउने निर्णय भएको सशस्त्र प्रहरी नायब महानिरीक्षक पालले बताए ।
सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच संयुक्त अभियान अन्तर्गत दशगजा क्षेत्रमा संयुक्त गस्ती, हेल्प तथा हेल्थ डेस्क संचालन, खेलकुद तथा विविध अभ्यासहरूलाई समेत निरन्तरता दिइने बैठकबाट सहमति गरिएको उनको भनाइ छ ।
बैठकमा सशस्त्र प्रहरी नायब महानिरीक्षक पालले छलफलको क्रममा उठेका सबै विषयहरूको कार्यान्वयनको सम्बन्धमा समकक्षी निकायको प्रभावकारी एवं परिणाममुखी भूमिका आवश्यक रहेको औंल्याए ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसीनाले नेपाल–भारत खुल्ला सीमासम्बन्धी समस्या तथा चुनौतीहरू र त्यसका समाधानका विषयमा प्रस्तुतीकरण गरेका थिए ।
बैठकमा भारततर्फबाट भारतीय सशस्त्र सीमा बलको सेक्टर हेडक्वाटर लखीमपुर खिरीका डीआईजी बी. विक्रमन तथा सेक्टर हेडक्वाटर गोरखपुरका डीआईजी मुन्ना सिंहले आफ्ना भनाइ राखेका थिए ।
यसअघि सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच डीआईजी स्तरीय पाँचौ समन्वयात्मक बैठक भारतको उत्तर प्रदेश स्थित आईसीपी रुपैडियाको बहराइचमा सम्पन्न भएको थियो ।
यो नेपाल-भारत ६ औं समन्वयात्मक बैठक हो ।