३१ असार २०८३, बुधबार
राजनीति चेतना र चिन्तन

सुध्रिनुपर्छ राजनीतिक दल र नेता, बढ्नुपर्छ जनताको चेतनास्तर

माघ ८, २०८१
काठमाडौं
सुध्रिनुपर्छ राजनीतिक दल र नेता, बढ्नुपर्छ जनताको चेतनास्तर

राम्रो र नराम्रो परिवेशको उचित मूल्यांकन गर्न सक्ने क्षमता भएको जनताले मात्र शासकीय सुधार गर्न सक्छ । राम्रोका लागि दबाब दिने जनता र जनमतको कदर गर्ने राजनीतिक नेतृत्व भए असल शासनको अनुभूति हुन्छ । दुवै पक्षको सकारात्मक सोच र क्रियाकलापबाट मात्र जनमतको शासन र लोकप्रिय नेतृत्वको उदय हुन सक्छ ।

राजनीतिले जनता अल्मल्याउने र भ्रममा जनतालाई भुलाउने प्रवृत्ति अल्पविकसित देशमा अधिक देखिन्छ । जनताको चेतना कमजोर भएका कारण यी खेलहरू भएका हुन्छन् । चेतना बढी भए भ्रमका आधार शिथिल हुने थिए । जनताको कमजोर चेतनाका कारण भ्रम र अफवाह फैलाई आफ्नो स्वार्थ पूर्ति गर्ने र लोकतन्त्रको उपहास गर्ने काम भइरहेको पाइन्छ । 

राजनीतिक चिन्तन र व्यवहारबाट सकारात्मक परिणाम प्राप्त हुन नागरिक चेतनाको जरुरत पर्दछ ।  नागरिकको अवस्था र चेतनाको स्तरबाट राजनीतिको मूल्यांकन गर्न सकिन्छ । 

विकासशील र अल्पविकसित देशहरूमा विभिन्न राजनीतिक अवस्था रहेको पाइन्छ । पहिलो वर्गमा राजनीतिक तटस्थता र राजनीतिक लाभ लिन सक्ने समूहलाई लिन सकिन्छ । राजनीतिक भाषामा कुलीन वा प्रबुद्ध वर्ग पनि भन्ने गरिएको पाइन्छ ।  यो वर्गले चुनावमा सहभागिताबाहेक अन्य समयमा राजनीतिक चासो भएको पाइँदैन । काममा व्यस्तता, राजनीतिप्रतिको अपेक्षामा कम चासो र तटस्थ भूमिका एवं आवश्यक पर्दा भित्रीरूपमा सहयोग गर्ने र सबैसँग सम्पर्कमा रहने प्रवृत्ति देखिन्छ । 

गैरराजनीतिक र प्रबुद्ध वा कुलीन वर्गको जमात भएको र राजनीतिबाट अप्रत्यक्ष फाइदा लिई सबै क्षेत्रमा पहुँच हुने भएकाले आफूलाई कुनै पनि काम गर्न र अन्य फाइदाका लागि अवरोध नभएको र राजनीतिमा कम चासो भएकाले विसंगतिप्रति दबाब नहुँदा राजनीतिक सुधारमा अवरोध देखिएको छ । शासकीय नेतृत्वमा असल शासनका लागि दबाब दिने हो भने धेरै नै प्रभावकारिता बढ्ने देखिन्छ । राजनीतिक चेतना भए पनि तटस्थ वा निष्क्रिय भएकाले सुधारमा दबाब नहुँदा राजनीति प्रभावकारी हुन सकेको पाइँदैन । राजनीतिक सक्रियता र व्यवहार जनमैत्री बनाउन नसक्दा शासकीय नेतृत्वमा सकारात्मक प्रभाव पार्न सकिएको छैन । जनताको अपेक्षा र राजनीतिक क्रियाकलापबीच ठूलो अन्तर हुँदै गएको तर कुलीन वर्गको परिवर्तनका लागि दबाब कमजोर र जो आए पनि आफ्नो हित प्रबर्द्धन गर्न सक्ने हुँदा राजनीति पेचिलो हुन सकेन ।

प्रबुद्ध वर्गले जो शासन सत्तामा आए पनि उनीहरूको प्रभाव कमजोर देखिँदैन । आफ्नो अस्तित्वमा आँच नआउने गरी आफूलाई राजनीतिमा सुसुप्त क्रियाशील बनाएकाले राजनीति सुधारमा अवरोध देखिएको छ । राजनीतिक सुधार गर्न प्रबुद्ध वर्ग विश्वमै शासकीय पहुँचमा सधैँ रहने भएकाले सुधारमा चासो राखेको पाइँदैन बरु आर्थिक सहयोगले शासकीय पहुँचमा रहन चाहन्छ । प्रबुद्ध वर्गलाई राज्यको नीति र कानूनी आधारबाट सामाजिक उत्तरदायित्वमा जिम्मेवार बनाउन आवश्यक छ । जनताको शक्तिको दबाबमा कुलीन वर्गलाई जिम्मेवार बनाउन सकियो भने मात्र राजनीतिक प्रभावकारिता बढाउन सकिन्छ ।

दोस्रो वर्गमा राजनीतिमा पूर्णकालीन भएको समूहलाई हेर्न सकिन्छ । राजनीतिलाई पेशा भन्न पनि पछि पर्दैनन् । राजनीतिमा अपेक्षा बढी राख्ने र प्रायः पारिवारिक राजनीतिक भूमिकामा बढी भएको एवं  राजनीतिमा पूर्ण क्रियाशील एवं राजनीतिक संगठनको नेतृत्व तहमा जाने अभिलाषा राखेका हुन्छन् ।

राजनीतिको मूल मियोमा रहने राजनीतिक वर्गको रूपमा जिम्मेवार र जवाफदेही बनाउन जनताको सक्रियता चाहिन्छ ।

राजनीतिको मूल मियोमा रहने राजनीतिक वर्गको रूपमा जिम्मेवार र जवाफदेही बनाउन जनताको सक्रियता चाहिन्छ । अल्पविकसित र विकसित देशहरूमा राजनीतिलाई पेशाको रूपमा लिई शासनको बागडोरमा रहँदा जसो पनि गर्न सक्ने चरित्र बढी देखिएको पाइन्छ । आफूलाई राजनीतिकर्मीको रूपमा प्रस्तुत गरी राजनीतिक क्रियाकलापमा जनताको समर्थनको आधार रहेको बताउने गर्दछन् ।

राजनीतिको पक्षपोषण गर्नेहरू नेता/कार्यकर्ता तथा समर्थकको वरिपरि बस्न रुचाउँछन् । यो वर्गको राजनीतिक विरासत र फुर्ती बढी, तर जनताको अपेक्षाप्रति संवेदनशीलता कम हुने गरेको आरोप छ । चुनावी सहभागिताको अवसर पाउने तर कार्यक्षमता वा प्रभावकारिताको समस्या देखिने गर्दछ । जनताको समर्थन र आलोचनाको बीचमा आफ्नो प्रभावकारिता बढाई लोकप्रिय हुने अवसरको नजरअन्दाज गरेको पाइन्छ । 

राजनीतिलाई पेशाको रूपमा लिने र पैसा कमाउने माध्यम पनि बनाएको र कानूनको पालनामा आफूलाई सक्रिय बनाउन नसकेको आरोप पनि छ । कानूनी शासनको कमजोर अवस्थाको फाइदा लिइरहेका छन् । हाम्रोजस्तो देशमा त कानूनभन्दा माथि रहेको र सानालाई ऐन ठूलालाई चैन भन्ने गरिएको छ । 

राजनीतिमा अपराधीकरण र अपराधीकरणमा राजनीतिको अन्तरघुलन गरी स्वार्थ पूर्ति गर्ने गरेका उदाहरण पनि छन् । जनताप्रति जिम्मेवारी र जवाफदेहिताको अवस्था कमजोर भएको पाइन्छ । तर, केही राजनीतिक नेतृत्वमा सदाचारिता भएता पनि उनीहरूको प्रभाव राजनीतिमा कमजोर नै देखिन्छ । 

हाम्रोजस्तो परिवेशमा शुद्धताको राजनीति र कार्य सम्पादनमा कटिबद्ध हुन खोज्ने पनि छन्, तर उनीहरूको आवाज कमजोर छ । उनीहरूले नेतृत्व गर्न अवसर पाउने सम्भावना कम देखिन्छ । जनतामा राजनीतिक चेतना र जागरण ल्याउन सञ्चार क्षेत्रले सकारात्मक भूमिका निर्वाह नगर्दासम्म सुध्रिने अवस्था देखिँदैन । यो वर्गको सकारात्मक सोचमा परिवर्तन नहुँदासम्म वा जनताप्रति उत्तरदायी र जवाफदेही नबन्दासम्म नागरिकले उन्नत शासकीय व्यवस्था पाउन मुस्किल नै देखिने भएकाले जनदबाबबाट सुधार गरी जनकेन्द्रित वा लोकप्रिय बनाउन सकियो भने राज्यको कायापलट हुन सक्छ ।

तेस्रो तहका मानिस राजनीतिक बुझाइ कम र राजनीतिक संगठनको स्वार्थमा आफूलाई समाहित गर्ने तथा केही लाभ लिन सक्ने हुन्छन् । राजनीतिक कार्यकर्ताको रूपमा रहने र दलका कार्यक्रममा सक्रिय सहभागी हुने गर्दछन् । जनता जनार्दनमा राजनीतिक अर्धशिक्षा वा बुझपचाइको राजनीतिमा रमाउने वर्गको रूपमा यसलाई हेरिएको पाइन्छ । जानी बुझिकन पनि राम्रो र नराम्रो छुट्ट्याउन वा भन्न नसक्ने र क्षणिक स्वार्थमा रुमल्लिने जस्ता गुण यो वर्गमा देखिन्छ ।

राजनीतिक जमघटमा समूह जम्मा गर्न सहभागी हुने र स्वार्थमा दल अदल/बदल गर्न पनि सहज ठान्दछन् । प्रायः बेरोजगार वा अर्ध बेरोजगार जनशक्तिको प्रभाव यस वर्गमा बढी छ । आफ्नो हैसियत के हो, काम कर्तव्यप्रतिको उत्तरदायित्व नबुझ्नु र राजनीतिक आवेगले ल्याउने परिणाममा सचेत भएको पाइँदैन । अन्धराजनीतिको प्रभावले जीवन जिउने आधार बन्न सकेको देखिँदैन । 

अर्धचेतना भएको र राजनीतिक सुधारमा चासो तथा चिन्ता नभएको स्वार्थ वा अनभिज्ञताले राजनीतिमा नकारात्मक प्रभाव बढ्दो छ । राजनीतिक लहैलहैमा रमाउने र सीमित स्वार्थमा सन्तोष मान्ने गर्दा राजनीति बिग्रिएको छ । यो वर्गले जानेर वा बुझेर दबाब दिने हो भने राजनीतिक सुधारमा पक्कै पनि सकारात्मक अवस्था आउने थियो । राजनीतिमा जागरुकता र जागरणमा ध्यान नदिने तथा सीमित स्वार्थमा रहँदा राजनीतिक माहोल बिग्रिएर शासकीय व्यवस्था समेत सुधार गर्न सकिएको छैन । राजनीतिक ज्ञानसँगै नागरिक सचेतना र सत्यका लागि सक्रिय हुने हो भने राजनीतिमा सुधार भई असल शासनको अनुभूति गर्न सकिन्छ ।

चौथो तहको जनतामा राजनीतिक चेतना नभएका र गरिब एवं आफ्ना समस्याको संर्घषमा रहेका तथा राजनीतिज्ञको स्वार्थको शोषणमा रहेका हुन्छन् । चुनावी माहोलमा अन्यको दबदबा र प्रलोभनमा पर्ने तथा आफ्नो निर्णय क्षमता नभएका वा आधारभूत आवश्यकताको जोहो गर्न संर्घष गरिरहेका हुन्छन् ।

शिक्षाको अवसरबाट वञ्चित भई खान/लाउन र उपयुक्त बसाइको अभाव छ । राजनीतिक सचेतना नभएको र राजनीतिक क्रियाकलापको असल पक्षको जानकार छैनन् । गरिबी र अभावको समस्या तथा जेनतेन ज्यान पाल्नुपर्ने बाध्यताको अवस्था रहेको यस्तो वर्गले देशको शासन सत्तामा को ल्याउने र कसलाई पठाउने जस्ता विषयमा पूर्ण अनभिज्ञ भएको पाइन्छ । तर, राजनीति गर्नेहरूले यी वर्गका जनतालाई क्षणिक प्रलोभनमा पारी चुनावी भोट बैंकका रूपमा उपयोग गर्ने गरेका छन् ।

चुनावपछि उनीहरूसँग राजनीतिक प्रभाव न्यून देखिन्छ । नागरिक चेतना र राजनीतिक ज्ञान व्यापक रूपमा प्रवाह गर्ने र उनीहरूको आधारभूत आवश्यकताको परिपूर्ति गर्ने एवं आर्थिक रूपमा आत्मनिर्भर बनाई राजनीतिक चेतनाबाट राजनीतिक सुधार गर्न दबाब दिन सक्ने बनाउनुपर्छ । 

शिक्षाको अवसरबाट वञ्चित, आधारभूत आवश्यकताको खोजी, शोषणको दलदलमा रहेका, दैनिक श्रम नगरी जिउन कठिनजस्ता समस्याको पीडामा रहेका जनताको राजनीतिक चेतना बढाउने र सँगसँगै आर्थिक पाटो सुधार गर्न सके राजनीतिक चेतना बढी असत्यको प्रतिवाद गर्न सक्छन् र राजनीतिक चेतनाले शासकीय सुधारमा दबाब पर्दछ । 

राजनीतिको प्रभावकारिता बढाउन नागरिक सक्षम बनाउनुपर्ने, राजनीतिक वातावरणलाई कानूनी आधारमा सक्रिय पार्नेे, जनताको केन्द्रबिन्दुमा रही राजनीतिक क्रियाकलाप गर्नेजस्ता विषयमा ध्यान दिन सके सकारात्मक परिणाम प्राप्त भई र जनमतको कदरबाट राजनीतिप्रति श्रद्धा र विश्वास बढ्न सक्छ ।

जनताको चेतनाको स्तर बढाउन नागरिक शिक्षामा जोड दिन आवश्यक छ । जनताका लागि राजनीति हुनुपर्छ र राजनीतिबाट लाभान्वित हुन जनता सचेत हुनै पर्दछ ।       
 

salt training

कमेन्ट गर्नुहोस्