
यात्रुलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले इनड्राइभका एक राइडरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको साविक नारायणी नगरपालिका-४ का २५ वर्षीय प्रविन बराल रहेका छन् ।
उनलाई मंगलबार काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।
बरालले केही दिन पहिले चितवनको मुग्लिनबाट काठमाडौंका लागि अनलाइनमार्फत् ‘राइड रिक्वेस्ट’ गरेकी एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोप छ ।
राइडरले ह्वाट्सएपमा मेसेज गरेर यौन उत्पीडन गरेको भन्दै एकजना महिलाले सामाजिक सञ्जाल ‘टिकटक’मा भिडियो पोस्ट गरेकी थिइन् ।
उनले भिडियोमा भने अनुसार घटना माघ २ गतेको हो । गाडी बिग्रेपछि राइड सेयरिङमार्फत काठमाडौं फर्किन खोज्दा ती राइडरले उत्पीडन गरेको ती महिलाको आरोप छ ।
‘म र १२ वर्षीय बच्चा थियौं । राइडरले एक घण्टा जति कहीँ बसौँ न भनेर मेसेज गरे । प्रतिवाद गर्दा मन मिल्यो भने बसौँ भन्यो’, उनले भनेकी छन् ।
पीडित महिलाले उजुरी दिएपछि बराललाई पक्राउ गरेर आवश्यक कारबाही अघि बढाइएको परिसरका एसपी अधिकारीले बताए ।