काठमाडौं, ५ माघ-अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को एसिया प्रशान्त क्षेत्रीय सम्मेलन बुधबारदेखि तीन दिनसम्म काठमाडौंमा हुने भएको छ । होटल ह्यात रेजेन्सीमा हुने सो सम्मेलनको सबै तयारी पूरा भएको छ । करिब २७ वर्षपछि काठमाडौंमा हुन लागेको सो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका केही गृहमन्त्री र ५५ मुलुकका प्रहरी प्रमुखहरूसहित २ सय ५० भन्दा बढीको सहभागिता रहनेछ, राजधानीमा खबर छ ।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख एआईजी विज्ञानराज शर्माका अनुसार मंगलबार साँझसम्म १ सय ३३ जना पाहुनाहरू आइसकेका छन् ।
एआईजी शर्माका अनुसार सम्मेलनमा मानव बेचबिखन, बालबालिकाविरुद्ध हुने अपराध, सीमा सुरक्षा तथा व्यवस्थापन, सीमावर्ती अपराधहरू, अन्तर्राष्ट्रिय आतंकवाद, साइबर अपराध, वन्यजन्तुसम्बन्धी अपराधका विषयमा छलफल हुनेछ ।
इन्टपोल महासचिवालयको हरेक दुई÷दुई वर्षमा सदस्य राष्ट्रहरूमा हुने इन्टरपोलको एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा ५२ देशका ३ उपक्षेत्रीय कार्यालय प्रतिनिधिहरू सम्मेलनमा भाग लिन आउनेछन् । अपराध विभागका प्रमुख एआईजी शर्माको नेतृत्वमा सम्मेलन सफल बनाउन सात सदस्यीय मूल समिति गठन गरिएको छ । त्यसैगरी पूर्वतयारी समिति पनि छुुट्टै बनाइएको छ । जसमा डीआईजी बमबहादुर भण्डारी, विजयलाल कायस्थ, माधव जोशी, देवेन्द्र सुवेदी, मिङमार लामा, हेमन्तबहादुर पाल, रोमेन्द्रसिंह देउजा, रामकुमार खनाल, शिला कार्की कंशाकार र एसएसपी कृष्णप्रसाद गौतम रहेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सम्मेलनमा भाग लिन विभिन्न संघसंस्थाका प्रतिनिधिसमेत काठमाडौं आउने भएका छन् ।