
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आजपनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।
रुपन्देही जिल्ला अदालतमा दायर भएको सुप्रिम सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा सुनुवाइका लागि उनी मंगलबार नै भैरहवा पुगिसकेका छन् ।
सरकारी वकिल कार्यालयले आइतबार उनीविरुद्ध मुद्दा दायर गरेको थियो।
००००
उच्च अदालत पोखराले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत ७ जनालाई धरौटीमा छाड्न जिल्लाले गरेको आदेशको कैफियत प्रतिवेदन माग गरेको छ ।
न्यायाधीश राजकुमार खतिवडाको एकल इजलासले मंगलबार जिल्लाको आदेशको कैफियत प्रतिवेदन माग गरेको हो ।
००००
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ सक्रिय राजनीतिमा आउन चाहेका छन् । त्यसका लागि उनले उपराष्ट्रपति हुनुअघि सक्रिय रहेको माओवादी र सो पार्टीका अध्यक्ष प्रचण्डसँग जिम्मेवारी मागेपनि अलमल भइरहेको छ ।
पार्टीभित्रै उनलाई राजनीतिमा सक्रिय गराउन नहुने आवाज उठेपछि जिम्मेवारी दिन समस्या भइरहेको बताइन्छ ।
मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकमा पनि पुनलाई जिम्मेवारी दिनेबारे विवाद भएको छ । विवादकै कारण यस सम्बन्धमा कुनै निर्णय हुन नसकेको एक नेताले बताए ।
उनी माओवादीको बैठकहरूमा आमन्त्रित सदस्यका रूपमा कात्तिक अन्तिम सातादेखि सहभागी हुँदै आएका छन् । तर, जिम्मेवारीको सन्दर्भमा विवाद देखिएकाले मंगलबारको बैठकबाट कुनै निष्कर्ष निकाल्न नसकिएको हो ।
००००
नेकपा एमालेले वामदेव गौतमसहित उनको टीमलाई उपयुक्त समयमा पार्टीमा भित्र्याउने भएको छ । मंगलबार बसेको सचिवालय बैठकले उनी नेतृ्त्वको एकता अभियानसँग सहकार्य गर्ने निर्णय गरेको छ ।
वामदेव र उनको टीम व्यवस्थापनलाई आपसी छलफलबाट टुंग्याइने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकपछि जानकारी दिए ।
यसअघि नै गौतमले आफू एमालेमा प्रवेश गर्ने निष्कर्ष निकालेका थिए । सोही निष्कर्षलाई मध्यनजर गरेर एमालेले सहकार्यको नीति लिएको हो । यससँगै वामदेवलाई एमाले प्रवेश गर्ने बाटो खुला भएको छ । एमालेले आगामी भदौमा विधान महाधिवेशन गर्ने निर्णय पनि गरेको छ ।
००००
चालु आर्थिक वर्ष २०८१–८२ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल नौ खर्ब २१ अर्ब १६ करोडको वैदेशिक व्यापार गर्दा सात खर्ब २३ अर्ब ५८ करोड १३ लाख घाटा व्यहोरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत पुस मसान्तसम्ममा आठ खर्ब २२ अर्ब ३७ करोड पाँच लाख बराबरको वस्तु आयात हुँदा ९८ अर्ब ७८ करोड ९२ लाख बराबरको मात्रै निर्यात भएको छ ।
००००
चालु आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन अनुसार बैंकहरू खराब कर्जाले दबाबमा देखिएका छन् । बैंकहरूले सार्वजनिक गरेको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले यस्तो तथ्य देखाएको हो ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकहरूको नाफा साढे ४ प्रतिशतको कमी आएको छ ।
००००
काठमाडौंको कालिमाटी तरकारी बजारबाट बेचिने हरियो सागदेखि तरकारीसम्म विषादीका कारण उपभोग गर्न अयोग्य रहेको पाइएको छ ।
विषादी अवशेष द्रुत विश्लेषण कार्यक्रम अन्तर्गत दिनहुँ नमूना संकलन गरेर प्रयोगशालामा परीक्षण गर्दा विषादीको मात्रा अत्यधिक रहेको पाइएको हो ।
००००
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ।
आयोगले माघ ८ गते राष्ट्रिय मुक्ति पार्टी नेपाललाई नयाँ राजनीतिक दलका रूपमा दर्ता गर्दै प्रमाणपत्र प्रदान गरेको हो ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसेर एकै दिनमा कम्पनी र भ्याट दर्ता जस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समय सूचना र प्रविधिको समय भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा आफूले विगतदेखि नै प्रयास गर्दै आएको बताए ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ दशमलव ०८ अंकले बढेको छ ।
मंगलबार नेप्से शून्य दशमलव १९ प्रतिशतले बढेर २६१३.०८ विन्दुमा पुगेको हो ।
००००
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेलाई एक खेलका लागि प्रतिबन्ध लगाएको छ।
लामिछानेलाई क्यानले अनुशासनको कारबाही गरेको हो । क्यानका प्रवक्ता छुम्बी लामाले सन्दीपलाई
एक खेलका लागि निलम्बन गर्दै स्पष्टीकरण सोधिएको बताए । जस अनुसार अब सन्दीपले क्यानले आयोजना गर्ने कुनै प्रतियोगितामध्ये एक खेल खेल्न पाउने छैनन् ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संघीय संसद्को अधिवेशन आह्वान गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा यही माघ १८ गते शुक्रबार संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरिएको हो ।