
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका तत्कालीन स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध ठगी कसुरमा मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय मोरङले बुधबार मोरङ जिल्ला मुद्दामा पोखरेलविरुद्ध मुद्दा दायर गरेको हो ।
पोखरेलले मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (१)द्वारा निषेधित ऐनको उपदफा (२) बमोजिमको कसुर अपराध गरेकाले सोही ऐनको दफा २४९ को उपदफा (३) को देहाय (ग) बमोजिम ७ वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवानाको माग दाबी लिएर अभियोग दर्ता भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
अभियोग दर्ता भएपछि बिहीबार प्रतिवादी पोखरेलको बयान हुने र सोही दिन बयान सकिए थुनछेक बहस शुरू हुने बुढाथोकीले बताए । थुनछेक बहसपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्नेमध्ये एउटा आदेश गर्नेछ ।
ठगी आरोपमा प्रहरीले उनलाई २५ पुसमा पक्राउ गरेको थियो । पक्राउ परेको १२ दिनमै अनुसन्धान टुंग्याएर प्रहरीले मिसिल (अनुसन्धान प्रतिवेदन) सरकारी वकिल कार्यालयमा मंगलबार बुझाएको थियो ।
पोखरेलले एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रूपैयाँ लिएको आरोप छ ।
मोरङको रङ्गेली नगरपालिका-२ घर भई काठमाडौंमा बस्दै आएका ४३ वर्षीय अनिल नेकपा (एमाले) मोरङका जिल्ला सदस्य हुन् । पार्टीको कोटामा एमबीबीएस भर्ना गरिदिने भन्दै बौआलालसँग २०७१ देखि २०७३ सालसम्म ३८ लाख ८० रूपैयाँ लिएका थिए ।
एबीबीबीएसमा छोरीको नाम निकालिदिने आश्वासन दिएपछि पैसा बुझाएको बौआलालको भनाइ छ । तर, छोरीको नाम ननिस्किएपछि पैसा फिर्ता माग्दा उल्टै धम्की दिएको उनले बताए । अनिलले उल्टै आफूसँग जबर्जस्ती ५० लाख रूपैयाँ ऋण लिएको कागज बनाएको बौआलालले बताएका छन् ।
बौआलालले आफू ठगीमा परेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । तर, प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि हुलाकमार्फत जाहेरी पठाएर उनले उच्च अदालत विराटनगरमा पनि रिट दायर गरेका थिए । उच्च अदालतले अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो ।
अनिल ठगी प्रकरणमा मुछिएपछि लेखा समिति सभापति पोखरेलले उनलाई स्वकीय सचिवको जिम्मेवारीबाट हटाएका थिए ।