
२३ औं महाधिवेशनमा होमिएको अखिल क्रान्तिकारीमा अध्यक्षका लागि चौपक्षीय प्रतिस्पर्धा देखिएको छ । ३२ वर्षे उमेरहद लगाएर महाधिवेशनमा गएको क्रान्तिकारीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनले अध्यक्षसहित प्यानलगत रूपमा उम्मेदवार अगाडि सारेका हुन् ।
सर्वसम्मत हुन नसकेपछि माघ १२ गतेबाट शुरू हुने महाधिवेशनका लागि मंगलबार ६ जनाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । जसमा विजयप्रकाश सापकोटा, सुदिन पौडेल, हेमन्त राई, उपदेश यादव, योगेन्द्र बुढा र विश्वमणि थापा छन् ।
जसमा सापकोटा, पौडेल, राई र यादवले प्यानल बनाएर उम्मेदवारी दिएका छन् । थापा र बुढाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
क्रान्तिकारीमा ३३ पदाधिकारीसहित २४३ सदस्यीय कमिटीको निर्वाचन हुन लागेको हो । पदाधिकारीतर्फ अध्यक्ष, ९ जना उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव र एक कोषाध्यक्ष हुनेछन् ।
पौडेल वर्षमान पुन, यादव नारायणकाजी श्रेष्ठ, राई जनार्दन शर्मा र सापकोटा शक्ति बस्नेतनिकट भएको दाबी नेताहरूले गरेका छन् । चार गुटका मुख्य प्रतिस्पर्धीमध्ये सापकोटालाई अध्यक्ष प्रचण्डनिकट एवं हेडक्वार्टरको उम्मेदवार भन्दै प्रचार गरिएको छ ।
‘६ जनाले अध्यक्षमा उम्मेदवारी दिए पनि अध्यक्ष प्रचण्डनिकट भएर शक्ति बस्नेतले सापकोटालाई समर्थन गरेको बुझेका छौं । अर्कातिर उपाध्यक्ष श्रेष्ठले उपदेश, वर्षमानले सुदिन र जनार्दनले हेमन्त राईलाई बोकेका छन्,’ एक विद्यार्थी नेताले भने, ‘चार पक्ष नै प्रतिस्पर्धाको मुडमा रहेपछि सर्वसम्मत बनाउन गाह्रो परेको हो ।’
अध्यक्षले बोलाएर मंगलबार छलफल गरे पनि ६ जनाबीच सहमति जुटाउन नसकिएको एक नेताले जानकारी दिए ।
‘अध्यक्षले पार्टीमा सबै नेता बराबर हुन्, सकेसम्म सर्वसम्मति गर्नुस् भनेर मंगलबार बोलाएर छलफल गर्नुभएको थियो । मिल्ने भए कुनै एकको नाममा मिल्नुस् भनेर पनि भन्नुभयो । तर, चारमध्ये कसैले पनि एकअर्कालाई नछाड्ने नीति लिनुभयो,’ प्रचण्डनिकट स्रोतले भन्यो, ‘हामी प्रतिस्पर्धा गर्छौं भनेपछि अध्यक्षले उसो भए प्रतिस्पर्धामा जानुस् भन्नुभएको हो ।’
चारवटै समूहबाट अगाडि बढ्ने भएपछि प्रचण्डनिकटका बुढाले स्वतन्त्रबाट अध्यक्षमा उम्मेदवारी गराएका छन् । तर, सापकोटालाई आधिकारिक उम्मेदवार बनाउन खोजेका प्रचण्डलाई श्रेष्ठ, पुन र शर्मा तीनै नेताले दबाब बढाएको नेताहरू बताउँछन् ।
‘आफू नदेखिएर शक्ति बस्नेतमार्फत अध्यक्षले अरूमाथि दबाब बढाउन खोज्नुभएको छ । तर, यत्तिकै तीनमध्ये नारायणकाजी र वर्षमानलाई मिलाउन सके पनि जनार्दनलाई मिलाउन अध्यक्षलाई गाह्रो छ,’ ती नेता भन्छन्, ‘यसैले मुख्य प्रतिस्पर्धा संस्थापन निकटका सापकोटा, जनार्दन निकटका राई, वर्षमान निकटका पौडेलबीच हुने देखिन्छ ।’
एक्लाएक्लै चुनाव लड्दा भने सुदिन र हेमन्तबीच कडा टक्कर हुने क्रान्तिकारीकै नेताहरू बताउँछन् । नारायणकाजी र वर्षमानका उम्मेदवारलाई फिर्ता गराउन सके जनार्दन पक्षका हेमन्तमाथि दबाब बढाउन सकिनेमा संस्थापन पुगेको छ । यस्तोमा प्रतिस्पर्धा भए पनि जनार्दन पक्षका उम्मेदवारलाई पराजित गर्न सकिने हिसाब संस्थापनले निकालेको एक नेताले जानकारी दिए । यस्तोमा वर्षमान निकटका सुदिन प्रमुख विकल्प बन्न सक्नेछन् ।
तर, पार्टीभित्रको शक्ति संघर्षजस्तै जनार्दन क्रान्तिकारीमा पनि नेतृत्वसँग नझुक्ने पक्षमा रहेको नेताहरू बताउँछन् । ‘अरू सबै मिले भने एउटा कुरा हो । तर, तीन पक्षबीच प्रतिस्पर्धा भए जनार्दननिकट नै हाबी हुने देखिन्छ । किनकि विद्यार्थीमा सबैभन्दा बढी पकड नै जनार्दन पक्षको छ,’ ती नेताले भने, ‘यसैले एक्लाएक्लै लड्दा राई बलिया उम्मेदवार हुन् ।’
नारायणकाजी पक्षधर विद्यार्थी भने कम रहेको नेताहरू बताउँछन् ।
अध्यक्षमा उम्मेदवारी दर्ता गराएका सापकोटाले ६ जनाको उम्मेदवारी परेपछि दाबी विरोधलाई घटाउन सकिन्छ कि भनेर पार्टीले प्रयत्न गरेको बताए ।
‘प्रक्रियामा गएपछि भाग लिन र प्रतिस्पर्धा गर्न पाइयो । तर, पनि दाबी विरोधलाई घटाउन सकिन्छ कि भन्ने प्रयास भएका छन्,’ सापकोटाले लोकान्तरसँग भने, ‘अध्यक्ष प्रचण्डले पनि निर्वाचनको प्रक्रियामा गइसकेपछि सबैलाई लड्ने छुट छ भन्नुभएको छ ।’
उनले पार्टीको मूल नेतृत्वसँग आफ्नो मुद्दा मिलेको दाबीसमेत गरे । ‘पार्टीको मूल नेतृत्वसँग एजेन्डा र मुद्दा मिल्छन् । देशकै राजनीतिमा पनि प्रचण्डको विकल्प छैन ।’
संगठनका भद्रगोललाई हटाएर अगाडि बढ्ने पक्षमा आफूले मुद्दा अगाडि सारेको सापकोटाले बताए ।
‘संगठनमा भएका भद्रगोललाई व्यवस्थित गरेर अगाडि बढ्नुको विकल्प छैन, किनकि पार्टीले अगाडि सारेको समाजवादको मुद्दामा काम गर्ने छनक सरकारमा जाँदा सुशासनबाट देखाइसकेको छ,’ उनले भने, ‘भ्रष्टारचारविरुद्ध सडक आन्दोलनलाई उठाउनुपर्नेछ । शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन बढाउनेदेखि विश्वविद्यालयलाई पुनर्संरचना गर्नुपर्छ भन्ने मेरा मुद्दा छन् ।’
वर्षमाननिकट अध्यक्षका उम्मेदवार सुदिन पौडेलले अरूको नाममा सर्वसम्मत भए आफू मान्न तयार भएको बताए । अन्यथा प्रतिस्पर्धामा होमिने उनको भनाइ छ ।
क्रान्तिकारीको अध्यक्षमा उम्मेदवारी दिएका राई, पौडेल र यादवले उमेरहदको खास वकालत आफूहरूले गरेको र एजेन्डा पास भएको दाबी गर्दै आएका छन् ।
‘मेरो वा अरू कसैको नाममा सर्वसम्मत हुन्छ भने मान्न म आफैं तयार छु । अन्यथा चुनावबाटै जितेर आउन सकिन्छ भन्नेमा छु,’ पौडेलले लोकान्तरसँग भने, ‘क्रान्तिकारीमा म र हेमन्तकै कारण ३२ वर्षे उमेर हद लगाउने स्थिति बनेको हो । तर, केही अग्रज मैले भनेको मानेन भनेर मेराविरुद्ध लागेका छन् । सहमति नहुँदा प्रतिस्पर्धाबाटै नेतृत्व चयन गर्नुलाई अस्वाभाविक मान्नुहुँदैन ।’
क्रान्तिकारीमा उमेरहद लगाउने र नलागउनेबीच तीव्र प्रतिस्पर्धा चलेको थियो । तर, अन्ततः निर्वाचनबाटै ३२ वर्षे उमेरहदको एजेन्डा पास भएको थियो ।
यो एजेन्डा पास भएपछि क्रान्तिकारीको नेतृत्व गर्न चाहने धेरै नेता साइड लाग्न पुगेका छन् । उमेरहद लागेपछि क्रान्तिकारीको राजनीतिमा बाटो बन्द भएकाहरूले हेडक्वार्टरको उम्मेदवारका रूपमा सापकोटाप्रति सद्भाव राखेको नेताहरूको दाबी छ ।
प्रचण्डको विकल्प अर्को प्रचण्ड नभएको भन्दै पौडेलले नेतालाई भिडाउने प्रयास असफल हुने बताए ।
‘१२ गतेको निर्वाचन अगाडिसम्म सहमतिका लागि प्रयास हुने अवस्था छ । केहीले नेतालाई भिडाउने खेल खेलेका छन् । यहाँ धेरैले नेता विशेषको उम्मेदवार भनिरहेका छन्,’ उनले भने, ‘म त अध्यक्ष प्रचण्ड, आदरणीय वर्षमान दाइ, जनार्दन दाइ सबैको उम्मेदवार हुँ ।’
बागमती प्रदेशबाट उपमहासचिव पदका उम्मेदवार उपेन्द्र जम्कट्टेलले पनि पार्टीको मूल नेतृत्वले नै विद्यार्थी आन्दोलनलाई थप उचाइ दिने बताए ।
पढ्नुहोस्, यो पनि :
अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !