१३ असार २०८३, शनिबार

स्पेनका लागि राजदूत नेपालद्वारा ओहदाको प्रमाणपत्र पेश

माघ ९, २०८१
काठमाडौं
स्पेनका लागि राजदूत नेपालद्वारा ओहदाको प्रमाणपत्र पेश

स्पेनका लागि नवनियुक्त नेपाली राजदूत शनिल नेपालले यहाँको विदेश मन्त्रालयका शिष्टाचार महाशाखाका महानिर्देशक एड्रियन मार्टिन कोउस समक्ष ओहदाको प्रमाणपत्रको प्रतिलिपि पेश गरेका छन् ।

राजदूतको जिम्मेवारी सम्हाल्न सोमबार स्पेन आइपुगेका उनले मङ्गलबार महानिर्देशक कोउससमक्ष ओहदाको प्रमाणपत्रको प्रतिलिपि पेश गरेका हुन् ।

शिष्टाचार भेटका अवसरमा महानिर्देशक कोउसले राजदूत नेपाललाई बधाई दिनुका साथै स्वागत गरेका थिए । यसैबीच राजदूत नेपालले म्याड्रिडस्थित नेपाली दूतावासमा आफ्नो पदभार ग्रहण गरेका छन् ।

यसअघि उनलाई म्याड्रिडस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा दूतावासका कार्यवाहक राजदूत यज्ञराज पौड्याल, सहचारी विपिन चन्दलगायतका कर्मचारीले स्वागत गरेका थिए ।

नेपालले स्पेनसँगै माल्टाका लागि गैरआवासीय राजदूतको जिम्मेवारीसमेत ग्रहण गरेका छन् । पछिल्लो समय माल्टालाई स्पेनस्थित नेपाली दूतावासलाई जिम्मेवारी तोकिएको छ । माल्टामा नेपाली दूतावास नरहेका कारण नेपाललाई गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको हो । 

राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर २८ गते नेपाललाई स्पेनका लागि राजदूतमा नियुक्त गरेका थिए । यसअघि उनी पोर्चुगलका लागि राजदूत नियुक्त भएका भए पनि तत्कालीन सरकारले पोर्चुगल नआउँदै फिर्ता बोलाएको थियो । सरकारले उनलाई गत साउनमा स्पेनका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो । ​

कूटनीति, राजनीति, अन्तर्राष्ट्रिय मामिला, विकास र नीति निर्माणलगायतका विषयमा विज्ञका रूपमा काम गर्दै आएका नेपालले स्वदेशी तथा विदेशी सङ्घसंस्थाहरूका विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्