२६ असार २०८३, शुक्रबार

देशभर तापक्रम बढ्न थाल्यो, कस्तो रहला आजको मौसम ?

सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
माघ १०, २०८१
काठमाडौं
देशभर तापक्रम बढ्न थाल्यो, कस्तो रहला आजको मौसम ?

काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको छ । 

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले पनि अधिकतम तापक्रम बढी रहेको र न्यूनतम तापक्रम पनि बढी नै देखिएको बताए । 

न्यून चापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने गर्छ भने उच्च चापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्छ । यद्यपि केही दिनमा भारतको उच्च चापीय प्रणाली सिफ्ट हुने (हट्दै जाने) हुनाले अहिले दुई–तीन दिनमा जसरी तापक्रम बढेको छ, त्यो ‘रेसियो’मा भने नबढ्ने उनले बताए । तर पनि अब तापक्रम उकालो लाग्ने समय भने हुन लागेको उनले बताए ।

बुधबार साँझ काठमाडौंको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम पनि ६.२ डिग्री रहेको थियो । 

यसपालि काठमाडौंको तापक्रम दुई डिग्रीसम्म झरेको थियो । 

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । साथै तराईका धेरै भू–भागमा हुस्सु लागेको छ ।

विभागका अनुसार आज दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिक बदली हुनेछ । कर्णाली, सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

salt training

कमेन्ट गर्नुहोस्