
काठमाडौं, ३ मंसिर — जिम्बाब्वेका नजरबन्द राष्ट्रपति रोबर्ट मुगाबेको दल जानु–पीएफले उनलाई आइतवार बर्खास्त गर्ने सम्भावना देखाएको छ ।
यसैबीच हजारौं मानिसले शनिवार र आज पनि प्रदर्शन गरेर मुगाबेलाई सत्ताच्युत गर्नेपर्ने माग गरेका छन् ।
त्रियान्नब्बे वर्षीय राष्ट्रपतिले आइतवार सेनाका कमान्डरहरूसँग कुरा गर्ने भएका छन् । सेनाले अघिल्लो हप्ता मुगाबेलाई नजरबन्दमा राखेर सत्ताकब्जा गरेको थियो ।
सेनाले सत्ता लिएपछि मुगाबेसँग भएको यो दोस्रो प्रत्यक्ष कुराकानी हो । जानु–पीएफका नेताले मुगाबेले राष्ट्रपति पदबाट राजीनामा दिनुपर्ने प्रस्ताव ग्रहण गर्नेछन् र पार्टीप्रमुखलाई प्रथम सचिवको पदबाट बर्खास्त गर्नेछन् ।
संसद्ले मुगाबेविरुद्ध महाअभियोग प्रस्तावमाथिको कारवाही अर्को हप्ता शुरु गर्नेछ ।
लगभग चार दशक जिम्बाब्वेको सत्ता चलाएका मुगाबेसँग सत्ता छोड्नुको विकल्प अत्यन्तै कम छन् । प्रहरी तथा सुरक्षा संयन्त्रले उनलाई सहयोग गरिरहेका छैनन् र उनका उच्चस्तरीय राजनीतिक समर्थकहरूलाई बन्दी बनाइएको छ ।
शनिवार राजधानी हरारेमा मानिसहरूले नारा लगाउने, गीत गाउने र प्लेकार्ड देखाउने काम गरे । धेरैले सैनिकहरूलाई अँगालो हाले । सैनिक अधिकारीहरूले जुलुस प्रदर्शनलाई अनुमति दिएका हुन् । यसले गर्दा सैनिक जर्नेलहरूको अन्तर्राष्ट्रिय छवि उच्च हुने अपेक्षा छ ।
तर विश्लेषकहरूले जनताको खुशियाली जिम्बाब्वेमा लोकतन्त्रप्रतिको ठूलो इच्छाको प्रमाण भएको बताएका छन् । मुगाबेको निवासबाट राष्ट्रपतीय मोटरकेड निस्कँदा मानिसहरूले हल्लाखल्ला गरेका थिए ।
द गार्डियनबाट