०४ साउन २०८३, सोमबार
महँगीको मारमा उपभोक्ता

डेढ-दुई महिनामै अचाक्ली महँगियो खाने तेल

माघ १८, २०८१
काठमाडौं
डेढ-दुई महिनामै अचाक्ली महँगियो खाने तेल

काठमाडौंको कलंकीमा बस्दै आएका विशाल पन्तले बुधवार प्रतिलिटर २५० रुपैयाँमा भटमासको तेल खरिद गरे । घर पुगेर तेलको मूल्य सुनाउँदा उनकी दिदी छक्क परिन् । विशालकी दिदीले दुई महिनाअघि २०९ रुपैयाँमा भटमास तेल खरिद गरेकी थिइन् । दुई महिनामै तेलको मूल्य झण्डै ४० रुपैयाँ बढेको थाहा पाएपछि उनी छक्क परेकी थिइन् । 

‘करिब दुई महिनाअघि मात्रै २०५ देखि २१० रुपैयाँ प्रतिलिटरमा खाने तेल खरिद गर्दै आएका थियौं । तर, हिजो एकै चोटी २५० सुन्दा अचम्म लाग्यो’, विशालकी दिदीले सुनाइन्, ‘१०/१५ रुपैयाँसम्म घटबढ हुन ठिकै थियो तर, एकै पटक ४०/५० रुपैयाँ बढेको छ ।’ 

करिब डेढ महिनाअघि २१०/२१५ रुपैयाँमा खरिद गरेको सूर्यमुखी तेल अहिले २५० मा खरिद गर्दा काठमाडौंकै तीनकुनेका वीरेन्द्र नाथ पनि चकित छन् । खाने तेलको मूल्य अचाक्ली बढेको उनी बताउँछन् । ‘एक/डेढ महिनाअघि मात्रै २००/२०५ रुपैयाँमा खाने तेल खरिद गरिएको थियो । अहिले खरिद गर्दा २४५/२५० रुपैयाँ छ’, नाथले भने, ‘एकै पटक ५० रुपैयाँ कसरी बढ्यो केही थाहा नै भएन । महँगी पनि कति बढ्न सकेको होला ?’ 

२ महिनाको अवधिमा खाने तेलको मूल्य ५० रुपैयाँसम्म बढेको कोटेश्वर महादेवस्थान बस्ने भुवन भण्डारी बताउँछन् । त्यो पनि ठूला पसल र मार्टमा मात्रै २५०/२६० रुपैयाँ प्रतिलिटर तेल पाइन्छ । खुद्रामा पसलमा २७० रुपैयाँसम्म लिने गरेको उनको भनाइ छ । 

‘लगभग २ महिना भयो तेलको मूल्य बढिरहेको छ । दुई दिनअघि मात्रै खरिद गर्दा प्रतिलिटर २४५ रुपैयाँमा सनफ्लावर तेल किनेको थिएँ, अहिले फेरि बढिसके छ’, भण्डारीले भने, ‘चामलको मूल्य केही घटेको छ । तेलको त धेरै नै बढेको छ ।’ 

ग्त असोजमा प्याकिङ गरिएको सोयाबिन तेलको (एमआरपी) २७० अङ्कित गरिएको छ । उक्त तेले ठूला पसर मार्टमा २५० रुपैयाँसम्म पाइन्छ । तर, खुद्रा पसलहरूले त्यही अङ्कित मूल्यलाई देखाएर २७० रुपैयाँसम्म लिने गरेका छन् । अनलाइन प्लेटफर्म दराजमा सनफ्लावर तेल प्रतिलिटर २८९ रुपैयाँमा बिक्री भइरहेको देख्न सकिन्छ । 

null

एउटै प्रकृतिका विभिन्न तेलका ब्रान्डहरू भएकोले व्यवसायीहरूले कार्टेलिङ गरिरहेको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सिना बताउँछन् । ‘यो उपभोक्तामाथिको चरम शोषण हो । बजारमा अभाव छैन, नाकाबन्दी छैन, श्रमिकहरूको ज्याला बढेको छैन, बिना कुनै कारण यसरी खाने तेलको मूल्य बढाइएको छ’, उनले भने, ‘यसमा सरकारबाटै सहयोग भएको छ । व्यापारीहरूलाई जतिसुकै नाफा पनि खान दिएको छ ।’ 

उनका अनुसार खाद्य वस्तुको मूल्य मापन र मूल्य निर्धारणको संयन्त्र नभएर सधैं उपभोक्ताहरू महँगीको मारमा परेका छन् । असोज/कार्तिकमा २०५ मा सोयाबिन र २०९ रुपैयाँमा सनफ्लावर तेल बिक्री गरेको साल्ट ट्रेडिङ कर्पोरेसनले अहिले सनफ्लावर तेल प्रतिलिटर २८० र सेयारबिन तेल प्रतिलिटर २५० रुपैयाँमा बिक्री गरिरहेको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि असोज/कार्तिकमा सुपथ मूल्य पसल सञ्चालन गर्दा भटमास तेलको मूल्य प्रतिलिटर २०५ मा (छुटसहित १९८ रुपैयाँ) बिक्री गरेको थियो । त्यस्तै, प्रतिलिटर २१० रुपैयाँको सनफ्लावर छुटसहित २०३ रुपैयाँमा बिक्री गरिरहेको  थियो । अहिले सनफ्लावर प्रतिलिटर २३६ रुपैयाँ र भटमास प्रतिलिटर २३४ रुपैयाँमा बिक्री गरिरहेको छ । 

यी दुवै सरकारको स्वामित्वमा रहेका कम्पनीहरू हुन । बजारमा भएको अस्वाभाविक प्रतिस्पर्धा र मूल्य वृद्धिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सरकारले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी खडा गरेको हो । जसले बजारमा हुने अस्वाभाविक प्रतिस्पर्धालाई सन्तुलनमा राख्न सहजीकरण गर्न सहयोग गर्छ । 

राज्यमाथि व्यवसायी हाबी भएकोले विना कुनै करण तेलको मूल्य बढाइएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना बताउँछन् । तेलको मूल्य बढाउनुपर्ने कारण नै नभए पनि अचाक्ली मूल्य बढाइएको उनको भनाइ छ । 

‘साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीहरूलाई सरकारले ल्याउनुको औचित्य छैन’, उनले भने, ‘मूल्य बढेको बढ्यै छ । सरकारका निकायहरूले केही गर्न सकेका छैनन् । यसरी उपभोक्ताहरूको हित संरक्षण हुँदैन ।’

नेपालमा सनफ्लावर, तोरी र भटमाससहित मासिक करिब २५ हजार टन तेल खपत हुने गरेको छ । जसमध्ये नेपालमै वार्षिक ३ लाख ८ हजार टन (कच्चा पर्दाथ) उत्पादन हुन्छ । यसबाहेक निर्यात र आन्तरिक खपतका लागि भातबाट कच्चा पदार्थ आयात हुने गरेको छ ।

विदेशबाटै कच्चा पदार्थ ल्याएर नेपालमा प्रशोधनगरी तेल निर्यातसमेत हुने गरेको छ । नेपालबाट बर्सेनि अर्बौं रुपैयाँको खाने तेल निर्यात हुँदै आएको छ । नेपालले चालू आर्थिक वर्षको ६ महिनामा १८ अर्ब ९१ करोड रुपैयाँ बराबरको भटमास तेल निर्यात गरेको छ । त्यस्तै, नेपालबाट ६ महिनाको अवधिमा सनफ्लावर तेल ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको बाहिरी मुलुकहरूमा पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्