०८ साउन २०८३, शुक्रबार
प्रतिनिधिसभा बैठक

प्रचण्डले किन गरेनन् संसद्‌मा सम्बोधन ?

माघ १८, २०८१
काठमाडौं
प्रचण्डले किन गरेनन् संसद्‌मा सम्बोधन ?

संसद्को हिउँदे अधिवेशन आरम्भको अवसरमा शुक्रबार प्रतिनिधिसभाको पहिलो दिनको बैठकमा सत्तारुढ दलका शीर्ष नेताले सम्बोधन गरेपछि प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने सम्बोधन गरेनन् ।

पहिलो दिनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गरे पनि तेस्रो दलको अध्यक्ष प्रचण्ड शुक्रबारको बैठकमा बोलेनन् । माओवादीको तर्फबाट प्रमुख सचेतक हितराज पाण्डेले सम्बोधन गरे ।

बिहीबार विपक्षी दलको बैठकमा समेत प्रचण्डले भोलि संसद्‌मा सम्बोधन गर्ने बताएका थिए । तर, शुक्रबार संसद्‌मा उपस्थित भएर पनि बोलेनन् । स्रोतका अनुसार प्रचण्डले प्रक्रियाका हिसाबले पनि आज नबोलेका हुन् । 

ओलीले सम्बोधन गरेपछि सभामुख देवराज घिमिरेले ठूलो दलको हैसियतमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समय दिए । त्यसपछि दोस्रो ठूलो दल नेकपा एमालेका सचिव योगेश भट्टराईलाई समय दिए ।
 
प्रधानमन्त्री बोलेपछि प्रमुख प्रतिपक्षी दलको नेतालाई बोल्न दिएको भए प्रचण्डले शुक्रबार नै बोल्ने तयारी गरेका थिए । सभामुखले योगेशलाई बोल्न दिएपछि प्रचण्डले पाण्डेलाई बोल्न आग्रह गरेका हुन् । माओवादीका एक नेताका अनुसार प्रचण्डले आगामी दिनको बैठकमा विशेष समय लिएर बोल्ने जानकारी दिए । 

‘प्रधानमन्त्री बोलेकै दिनमा बोल्नु पर्छ भन्ने रहेन, अर्को दिन बोल्नु हुन्छ’ ती नेताले भने । प्रतिपक्षी दलको नेता बोल्ने दिनमा प्रधानमन्त्री संसद्को बैठकमा उपस्थित हुने संसदीय परम्परा छ ।

शुक्रबार संसद् सम्बोधनका क्रममा ओलीले सरकार ढलिहाल्छ भन्ने प्रचण्डको भनाइप्रति कटाक्ष गरेका थिए । ओलीले भने– विपक्षमा रहेका साथीहरूले एउटा कुरामा आफ्नो समय व्यर्थै खेर फालेजस्तो लागिरहेको छ– ‘सरकार ढल्छ । ढल्नै लाग्यो । पुस मसान्त, माघे संक्रान्ति काट्दैन ।’ आदि इत्यादि । ‘ढलें–ढलें, ढलें–ढलें म त...’ यो ‘गीत’ अति नै गाइयो । यो ‘गीत’ मनोरञ्जन पार्टी/उत्सवहरूमा सुहाउला, राजनीतिमा सुहाउँदैन । अझ एकजना माननीयले कतै यस गीतलाई श्लील भएन समेत भन्नु भएको सुनेको छु । यस्तो गायन मनोरञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ, राजनीतिका मञ्चमा गाउन बन्द गरौं ।’

salt training

कमेन्ट गर्नुहोस्