०५ साउन २०८३, मंगलबार

संसद्‌मा अमरेश सिंहको प्रश्न– प्रदेश प्रमुखलाई किन चाहियो काठमाडौंमा क्वार्टर ?

माघ १८, २०८१
काठमाडौं
संसद्‌मा अमरेश सिंहको प्रश्न– प्रदेश प्रमुखलाई किन चाहियो काठमाडौंमा क्वार्टर ?
फाइल तस्वीर ।

प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सरकारले अनुत्पादक क्षेत्रमा लगानी गरेर सार्वजनिक ऋण बढाएको आरोप लगाएका छन् । डाँडामा भ्यूटावर र काठमाडौंमा प्रदेश प्रमुखलाई क्वार्टर आवश्यक नरहेको उनको भनाइ छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा मन्तव्य राख्दै सांसद सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले जति बखान गरे पनि सरकारले तात्विक सुधार गर्न नसकेको आरोप लगाए । 

‘देशभर भ्यूटावरको नाममा १ खर्ब खर्च गरिएको छ, यहाँ म झापाको कुरा गरेको छैन । मुख्यमन्त्री र प्रदेश प्रमुखलाई काठमाडौंमा किन चाहियो क्वार्टर, एउटै व्यक्तिलाई दुई ठाउँमा क्वार्टर ? यही सुशासन हो ?’ सांसद सिंहले प्रश्न गरे ।

सांसद सिंहले कांग्रेस र एमालेले मेरिटोक्रेसीलाई भत्काएर जताततै कार्यकर्ता भर्ती गरेको आरोप लगाए । ‘भूमि आयोगमा दुई दलले ३७ जिल्लामा कार्यकर्ता भर्ती गरे, विश्वविद्यालयको उपकुलपतिमा भागबण्डा गरिएको छ, यही हो सुशासन ?’ उनको प्रश्न छ ।

सांसद सिंहले सरकारले नियमनको नाममा सामाजिक सञ्जाललाई बन्द गर्ने अभिप्राय राखेको आरोप लगाए । उनले सरकार सञ्चालनका लागि गठित दलीय संयन्त्रको बैठकमा मुख्यसचिव र सचिवलाई सहभागी गराएको भन्दै आपत्ति जनाए ।

कमेन्ट गर्नुहोस्