
पोखरा महानगरले जथाभावी रूख काटिएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
शनिबार सामाजिक सञ्जाल फेसबूकमा ध्यानाकर्षण पत्र राख्दै महानगर प्रमुख धनराज आचार्यले पोखराका सार्वजनिक चौतारी र अन्य स्थानमा सयौं वर्ष पुराना वर, पीपल र स्वामीका रूखहरू काटिएकोमा ध्यानाकर्षण भएको बताएका हुन् ।
'पोखराका सार्वजनिक चौतारी र अन्य स्थानमा दिनदहाडै सयौं वर्ष पुराना वर, पीपल, र स्वामीका रुखहरू निर्मम रूपमा काटिएको घटनाप्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ। यो विषय गम्भीर चिन्ताको विषय मात्र नभई वातावरणीय सन्तुलनका लागि समेत हानिकारक,' उनले लेखेका छन् ।
यस्तै महानगरद्वारा जारी विज्ञप्तिमा अनधिकृत रूपमा रूख कटान कार्यमा संलग्नलाई पहिचान गरी कानून बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउने उल्लेख गरेको छ ।