
यतिबेला पोखरा महानगरपालिकाका विभिन्न वडामा धमाधम रुख काटिएका छन् । चाँप, वरपिपल र आँप, समि जातका रुखको हाँगा काटेर नाङ्गो बनाइएको छ । तर, नियामक निकायले भने नियमनमा तदारुकता देखाएका छैनन् ।
मानव सेवा फाउण्डेशनले आगामी वैशाखमा पोखरा-६ लेकसाइडमा महायज्ञ गर्ने तय गरेको छ। सोही महायज्ञका लागि दाउरा चाहिने भन्दै फाउण्डेशनले धमाधम रुख काटेको हो । कतिसम्म भने रुख कटानमा महानगरले समेत साथ दिएको फाउण्डेशनको दाबी छ ।
माघको पहिलो साता वडा नम्बर १४ मा वर, पिपल र समिका रुख काटिएपछि डिभिजन वन कार्यालयले महानगरलाई प्रष्टिकरण सोध्यो । रुखको हाँगा जथाभावी काटिएपछि स्थानीय वासिन्दा हेमन्त ढकालले महानगर र वडामा जानकारी गराए । पृथ्वीनारायण क्याम्पसका प्राणीशास्त्रका प्राध्यापक समेत रहेका ढकालले महानगरलाई जानकारी गराएपछि पनि तत्काल सुनुवाइ भएन । माघ ९ गते डिभिजन वन कार्यालयले महानगरलाई पत्र पठाएको थियो ।

प्राध्यापक हेमन्तले रुख कटान भएको दोस्रो दिनमा नै महानगर प्रमुख धनराज आचार्यलाई जानकारी गराएका थिए । जानकारी गराएको पाँचौँ दिनमा मात्र महानगर प्रहरी त्यहाँ पुग्यो । त्यतिन्जेल फाउण्डेशनले पाँचवटा रुख काटिसकेको थियो । ढकालले महानगरमा जानकारी गराउनु अघि वडामा खबर गरेका थिए । जथाभावी हाँगा काटेको देखेर ढकालले नकाट्न आग्रह गर्दा वडाबाट नै स्वीकृति लिएको फाउण्डेशनको दाबी थियो । त्यसपछि उनी बुझ्न वडा पुगेका थिए ।
‘मौखिक रूपमा दुवैको सहमति भएको मलाई थाहा छ । कानूनी प्रावधानले गर्दा दुई वटा नै कारबाहीमा पर्छन् भनेर झुठ बोलेका हुन् । मैले रुख नकाट्नु भनेर भन्दा वडाध्यक्षले भनेर काटेको भने। वडाध्यक्षलाई फोन गर्दा समन्वय गरेर गर्नु भनेको मलाई थाहा छैन भन्नुभयो । । त्यसमा रोक्नपर्यो भनेको रोक्नुभएन’, ढकालले भने ।
स्थानीयवासिन्दाबाट तत्काल जानकारी पाएका १४ नम्बरका वडाध्यक्ष बोधबहादुर कार्कीले आफूलाई थाहा नभई टोलले रुख काटेको स्पष्टिकरण दिन्छन् । वडाध्यक्षले जानकारी पाउनासाथ आफूले रोक्न लगाएको दाबी गरेपनि महानगरमा गुनासो पुगेको हप्ता दिनसम्म काम रोकिएको थिएन । फाउण्डेशनले वडा र महानगरको साथ सहयोगमा रुख काटेको दाबी गरिरहँदा यता, वडाध्यक्ष भने टोललाई दोष थोर्पछन् ।
‘एउटा टोलले त्यहाँ काम गरेको रहेछ, हामीलाई थाहा भएन । अस्ति हामीले टोललाई लिएर आएर छलफल गरेर राखियो । अलिअलि हाँगा काटेको भन्ने आयो । फाउडेणशसनले काटेर लगेका रहेछ । शुरूमा थाहा भएन । थाहा हुनेबित्तिकै अहिले ब्रेक गरिदिइसक्यौँ’, वडाध्यक्ष कार्कीले भने ।

धमाधम रुख काटेपछि माघ १३ गते मावन सेवा फाउण्डेशनले वडा नम्बर १४ लाई दाउरा आवश्यक परेकाले रुख काट्न र सामान ढुवानी गर्न सहयोग गरिदिनू भनेर पत्रचार गरेको थियो ।
‘महायज्ञमा हवन गर्नका निमित्त दाउरा आवश्यक पर्ने भएको हुँदा दाउरा कोटीहोम क्षेत्र परिसरमा ल्याउनुपर्ने लक्ष्य अनुरुप यहाँको वडा कार्यालयबाट उक्त रुखहरू काट्न आवश्यक अनुमति दिएर साथ सहयोग गर्न यो निवेदन पेश गरेका छौँ’, पत्रमा भनिएको छ ।
रुख काटेपछि पत्राचार गरेको मानव सेवा फाउडेण्शनले महानगरको साथ रहेको दाबी गर्छ । फाउडेण्शनका मिडिया संयोजक रहेका लेखराज ढकाल महानगरको सहयोगमा विभिन्न वडाबाट रुखका हाँगाहरू जम्मा भइरहेको दाबी गर्छन् ।

‘वडाहरूले सहयोग गरिरहनु भएको छ । केही ठाउँमा ल्याउन-लानका लागि स्वीकृति दिनुभएको छ । जस्तो यो महानगरले शहरभित्रको रुखको हाँगाहरू काटेको भेटियो । महायज्ञको लागि भनेर लिखित स्वीकृति नै दिनुभएको थियो । हाँगाहरू केही कलेक्सन गर्यो । त्यसका साथ अरु वडा र गाउँपालिकाले पनि मिल्नेसम्म महानगरले दिएको खण्डमा लैजानू भनेर दिनुभएको छ । त्यसरी पनि हामीले कलेक्सन गरिरहेका छौँ’, लेखराजले भने ।
उनले अन्य गाउँपालिकासहित पोखरा महानगरका वडा नम्बर ६, १३ र १४ बाट पनि रुखका हाँगाका लागि सहयोग पाइरहेको उनको दाबी छ । वडा नम्बर ६ उनीहरूले गर्ने भनिएको महायज्ञस्थल पनि हो । दुई महिनाअघि मात्र वडा नम्बर ६ को स्वीकृतिमा रुखका हाँगाहरू छोट्याइएका थिए । त्यस यता, सो स्थानमा रुख भने काटिएको छैन ।
‘महानगरको नै स्वीकृति लिएर गरेको हो । महानगरले दमकल भएको ठाउँमा राख्नुभएको थियो । हामीले त्यहाँबाट कलेक्सन गरेका छौँ । खरिद गरेका होइन, उहाँहरूले नि:शुल्क दिनुभएको हो । हामीलाई चाहिने भनेको वर, पिपल,आँप, चाँप यस्ता चिजहरु मात्र हुन् । अरु रुखको काटेका छैनौं’, लेखराजले भने ।

विरोध पछि वडा नम्बर १४ मा भने रुख काट्ने काम चार/पाँच दिन देखि रोकिएको छ । मौखिक रूपमा सहमति भएको बताउने प्राध्यापक हेमन्तका अनुसार फाउणडेशनले प्रलोभनमा पारेर रुख काटेको देखिन्छ । यसअघि त्यसस्थानमा भएका रुख हाँगाले दुईवटा घर जोखिममा थिए । सो हाँगालाई छोट्याउने भनेर टोलको बैठकमा बारम्बार विषय उठेका थियो । फाउडेण्शनले त्यही आधारमा टोलवासीसँग सहमति लिएका हुनसक्ने प्राध्यापक ढकाल सुनाउँछन् ।
‘केही पनि प्रक्रिया पुर्याएका छैनन् उनीहरूले । कागजी काम नगरिकन मौखिक रूपमा भएको पाइन्छ । नगर प्रहरीले जफत पनि गरेनन्, उनीहरूलाई पठाइदिए’, प्राध्यापक ढकालले थपे,‘प्रलोभन के देखाइयो भने टोलवासीलाई हामीहरूले तिमीहरूलाई केही बनाइदिन्छौँ भनेर पाइयो । वडालाई पनि केही प्रलोभन देखाइएको छ । प्रक्रिया नपुर्याइ काटिएको हो ।’

जानाजान अटेर गरेर रुख काटेका समूह कारबाहीका भागेदार हुनुपर्ने प्राध्यापक ढकाल बताउँछन् । रुख काटेको जानकारी दिएपछि ढिलागरि महानगरले सम्बोधन गर्दा महानगरको समेत यसमा त्रुटी भएको उनको भनाइ छ ।