
मानव सेवा फाउन्डेसनले पोखरामा स्थानीयसँग समन्वय गरेर नै रूख कटान गरिएको प्रस्टीकरण दिएको छ ।
शनिबार एक विज्ञप्ति जारी गर्दै फाउन्डेसनले समाचार र सामाजिक सञ्जालमा आए जस्तो कुनै काम नभएको जनाएको हो । यस्तै टोलवासी र स्थानीयसँग समन्वय गरेर जोखिममा भएको रूख मात्रै काटिएको फाउन्डेसनको भनाइ छ ।
‘पोखरा महानगरपालिका वडा नम्बर १३ र १४ मा रहेका वृक्षहरूमध्ये बिजुलीको तारहरूलाई छुने गरी जोखिमयुक्त रूपमा रहेका सँगसँगै घरहरूमा क्षति पुर्याउने सक्ने स्थितिमा रहेका वृक्षहरूलाई त्यहाँको टोल विकास समिति तथा स्थानीयले उक्त रूख पहिल्यै काट्नका लागि तय गरेको जानकारी प्राप्त भइसकेपश्रात मात्र सोही स्थानका आमा समूह साथै स्थानीय व्यक्तित्वहरूको साथ सहयोग समन्वय र सहकार्यमा मात्र कटान गरिएको जसमध्ये कटान गर्ने भनी पूर्व निर्णय गरिएको बाहेकका अन्य वृक्ष कटान नगरिएको सबैमा जानकारी गराउँदछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
पोखरा महानगरपालिकाले पनि शनिबार नै विज्ञप्ति जारी गरेर जथाभावी रूख काटिएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।