०३ साउन २०८३, आइतबार

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताः डडेल्धुराको विजयी सुरुआत

माघ १९, २०८१
कैलाली
अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताः डडेल्धुराको विजयी सुरुआत

गो ड्रिर्मसको आयोजनामा धनगढीमा आजदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । स्व अर्जुन खड्काको स्मृतिमा आयोजना गरिएको प्रतियोगितामा डडेल्धुराको फ्रेन्ड्स क्लबले विजयी सुरुआत गरेको हो ।

नेपाली क्रिकेट टोलीका सदस्य कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा डिसिए धनगढीलाई आठ विकेटले हराउँदै फ्रेन्ड्स क्लबले विजयी सुरुआत गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ३२ रन बनायो । सुरुआती विकेट सस्तैमा गुमाएर दबाबमा आएको धनगढीलाई सम्मानजनक योगफलतर्फ पुर्‍याउनका लागि अमित श्रेष्ठले सर्वाधिक ३२ रन बनाए । निर्धारित ओभर सकिन दुई बल बाँकी रहँदा आउट भएका अमितले ३२ बलको सामना गर्दै एक छक्का प्रहार गरे । 

सातौँ नम्बरमा ब्याटिङ गर्न आएका निरज ऐरले २७ रन र कप्तान नारायण जोशीले १६ रन बनाए । डडेल्धुराका लागि राहुल लुनियाले तीन, कुशल भुर्तेल र रवि विष्टले दुई/दुई र हेमन्त धामीले एक विकेट लिए । एक सय ३३ रनको लक्ष्य पछ्याएको डडेल्धुराले १५ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउँदै जित हासिल गरेको हो । 

डडेल्धुराका लागि भुर्तेलले अर्धशतक बनाउँदै ५१ बलमा ८७ रनको अविजित पारि खेले । यसैगरी, विनोद भण्डारीले ४२ रन बनाए । धनगढीका ललित राजवंशी र अमित श्रेष्ठले एक÷एक विकेट लिए । नवजीवन सहकारी संस्था लिमिटेड ‘म्यान अफ दी म्याच’ डडेल्धुराका भुर्तेल भए । उनले नगद रु १० हजारसहित ट्रफी पाए । 

प्रतियोगिताअन्तर्गत भोलि दुईवटा खेल हुनेछन् । पहिलो खेलमा सिवाइसी अत्तरिया र दशरथ चन्द एकेडेमी बैतडी प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा डिसिए धनगढी र घोडाघोडी–११ सुख्खड प्रतिस्पर्धा गर्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्