
शनिबारदेखि धनगढीमा शुरू भएको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सीवाईसी अत्तरिया र डीसीए धनगढी विजयी भएका छन् ।
गो ड्रिर्मसको आयोजनामा भइरहेको प्रतियोगिताको दोस्रो दिन भएको खेलमा दशरथ चन्द एकेडेमी बैतडीलाई २६ रनले हराउँदै सीवाईसी अत्तरियाले विजयी शुरूआत गरेको हो । धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सीवाईसीले निर्धारित २० ओभरमा ३ विकेट क्षतिमा एक सय ६४ रन बनायो ।
अत्तरियाका लागि कप्तान भीम सार्कीले अर्धशतक बनाए । ३३ बलको सामना गर्दै उनले ७० रन बनाए । सो पारीमा उनले ४ छक्का र ६ चौका प्रहार गरे । अत्तरियाका लागि तृपराज दासले ३० रन बनाए । शंकर रानाले २५ रन बनाउँदा विवेक यादवले १७ बलमा अविजित २५ रन बनाए । बैतडीका लागि अमरसिंह रौटेलाले २ विकेट र रुपेश सिंहले एक विकेट लिए ।
जीतका लागि पाएको एक सय ६५ रनको रनको लक्ष्य पछ्याएको बैतडीले २० ओभरमा ९ विकेटको क्षतिमा १३८ रन मात्रै बनाउन सक्यो । बैतडीका लागि हिमाल दौल्यालले सर्वाधिक ३९ रन बनाए । वसन्त खत्रीले २३ रन, सुमित बडालले १८ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । सीवाईसी अत्तरियाका लागि विवेक यादवले ४ विकेट लिए । साहब आलम र कमल गुप्ताले २/२ विकेट लिए । दीपेश कँडेलले एक विकेट लिए । खेलमा २५ रन बनाएर ४ विकेट लिएका अत्तरियाका विवेक यादव नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजारसहित ट्रफी पाए ।
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो खेलमा डीसीए धनगढीले पहिलो जीत दर्ता गरेको छ । पहिलो खेलमा डडेलधुरासँग पराजित भएको डीसीए धनगढीले घोडाघोडी–११ लाई ६९ रनले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ गर्दै डीसीए धनगढीले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा एक सय ४९ रन बनायो । डीसीएका लागि राजु रिजालले २७ बलमा ३७ रन बनाए । यस्तै लोकेश बमले ३१, अभिषेक पालले २८ र कप्तान नारायण जोशीले ९ बलमा १९ रन बनाए । घोडाघोडीका लागि धर्मराज जोशीले ३ विकेट लिए । नरेन साउदले दुई विकेट लिए ।
एक सय ५० रनको लक्ष्य लिएर मैदान उत्रिएको घोडाघोडी १६.५ ओभरमा सबै विकेट गुमाउँदै ८० रनमा समेटियो । घोडाघोडीका लागि टेक रावतले १८ रन र दीपक टमाटाले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन अंक छुन सकेनन् । डीसीएलाई सानदार जीत दिलाउन ललित राजवंशीले ३ विकेट लिए । मिलन बोहोरा र राहु भण्डारीले दुई/दुई विकेट लिए । खेलमा ३ विकेट लिएका डीसीए धनगढीका ललित राजवंशी नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।
प्रतियोगिता अन्तर्गत भोलि दुई वटा खेल हुनेछन् । पहिलो खेलमा फेण्ड्स क्लब डडेल्धुरा र बोष्टन क्रिकेट झापा प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा सीवाईसी अत्तरिया र क्रिकेट एक्सीलेन्स सेन्टर काठमाडौं प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल क्रिकेट संघको वार्षिक क्यालेन्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथि रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।
प्रतियोगितामा देशभरका ८ वटा क्लबका टिमहरूको सहभागिता रहेको छ । दुई समूहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा आयोजना भइरहेको प्रतियोगिताको समूह ए मा डीसीए धनगढी, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुक्खड र बोष्टन क्रिकेट झापा रहेका छन् ।
यस्तै समूह बी मा सीवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं, न्यु होराइजन बुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन् ।