
कोशी प्रदेशका प्रमुख र तिनका सचिवालयका कर्मचारीले तलभत्ताबाहेक सेवा सुविधामै झण्डै एक करोड खर्च गरेका छन् । स्थापनाकालदेखि हालसम्म भएका तीन प्रदेश प्रमुख र उनीहरूका सचिवालयले सेवा सुविधामा ९० लाख १८ हजार ९४७ रुपैयाँ खर्च गरेका हुन् ।
गोविन्दबहादुर तुम्बाहाङ कोशीमा पहिलो प्रदेश प्रमुख भएका थिए । उनी २०७४ माघ ५ गते प्रदेश प्रमुख नियुक्त भएका थिए भने २०७६ कात्तिक १७ गते पदमुक्त भएका थिए । उनले आर्थिक वर्ष ०७४/०७५मा दैनिक भ्रमण भत्ता(टीएडीए)मार्फत् ७५ हजार ५ सय रुपैयाँ बुझेका थिए । सोही आवमा पोसाकमार्फत् १८ हजार र चाडपर्वमार्फत् उनले ९३ हजार ५ सय बुझेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
यस्तै, उनले आर्थिक वर्ष ०७५/०७६ र ०७६/०७७ मा भने टीएडीए, चाडपर्व र अतिथि सत्कारका नाममा १० लाख ३१ हजार ४९० रुपैयाँ खर्च गरेका थिए । २० महिना जति प्रदेश प्रमुख भएका तुम्बाहाङले तलबबाहेक ११ लाख २४ हजार ९९० रुपैयाँ टीएडीएमा खर्च गरेका छन् । उनी नेपाली कांग्रेसका हुन् ।
सोही अवधिमा उनको सचिवालयले भने प्रदेश प्रमुखभन्दा बढी सेवा सुविधा बुझेको छ । सचिवालयले टीएडीएमा ६ लाख ६० हजार २९५ र चाडपर्व खर्चमा ५ लाख ४८ हजार ३२० रुपैयाँ खर्च गरेको छ । सचिवालयका नाममा १२ लाख ८ हजार ६१५ रुपैयाँ तलबबाहेक सरकारले अतिरिक्त खर्च गरेको छ ।

तुम्बाहाङ पदमुक्त भएपछि २०७६ कात्तिक १७ गते सोमनाथ अधिकारी ‘प्यासी’ दोस्रो प्रदेश प्रमुखमा नियुक्ति भएका थिए । उनी नेकपा (एमाले)का हुन् । उनी २०७८ कात्तिक २२ गतेसम्म प्रदेश प्रमुख रहेका थिए । २ वर्ष प्रदेश प्रमुख भएका अधिकारीले ३ लाख ३१ हजार टीएडीए बुझेका छन् भने पोसाक खर्चमा ३६ हजार र चाडपर्व खर्चमा १ लाख ४८ हजार ४ सय रुपैयाँ बुझेको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी सम्पूर्ण थापाले बताइन् । उनले २ वर्षको अवधिमा अतिरिक्त सेवा सुविधामार्फत १४ लाख ८४ हजार बुझेका छन् ।
उनको सचिवालयले भने सोही अवधिमा ११ लाख ६३ हजार २५५ रुपैयाँ खर्च गरेका छन् । सचिवालयका कर्मचारीले टीएडीएमा ७ लाख ७६ हजार ९४५ रुपैयाँ खर्च गरेका थिए भने चाडपर्व शीर्षकमा ३ लाख ८६ हजार ३१० रुपैयाँ खर्च गरेका थिए ।
यस्तै, २०७८ कात्तिक १९ गते तेस्रो प्रदेश प्रमुख भएका पर्शुराम खापुङले भने अतिरिक्त सेवामा सबैभन्दा बढी खर्च गरेका छन् । तीन वर्षको अवधिमा उनले ५ लाख ६९ हजार १७९ रुपैयाँ टीएडीएबापत बुझेका छन् भने पोसाकमा ५४ हजार र चाडपर्व खर्चमा १ लाख ४८ हजार ४८० रुपैयाँ बुझेका छन् । अतिथि सत्कारमा भने उनले १२ लाख ८८ हजार खर्च गरेका छन् ।
उनको सचिवालयका सदस्यले भने १९ लाख ७८ हजार ४०३ रुपैयाँ अतिरिक्त सेवा सुविधा बुझेका छन् । टीएडीएमा ११ लाख ३६ हजार ३२२ र चाडपर्व खर्चमा ८ लाख ८२ हजारभन्दा बढी बुझेका छन् । खापुङ अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका हुन् ।