
गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माण सम्बन्धमा देखिएका समस्याबारे कांग्रेसका कोशी प्रदेशका १४ जिल्ला सभापतिहरू छलफल गरेका छन् ।
केबलकार निर्माणबारे देखिएका विवादबारे उनले मंगलबार बिहान जिल्ला सभापतिहरूसँग छलफल गरेका हुन् ।
गृहमन्त्री लेखकले विवाद देखिनुको कारण र समाधानका उपायबारे नेताहरूसँग जिज्ञासा राखेका थिए । जिल्ला सभापतिहरूले संवादबाटे समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।
ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका विषयमा सरकारले आन्दोलनरत पक्षसँग वार्ता गरिरहेको छ ।
सरकाद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच हिजो साँझ ललितपुरमा भएको वार्ता सकारात्मक भए पनि निष्कर्षमा भने पुग्न सकेन ।
मङ्गलबार बिहान ११ बजे पुनः वार्ता बस्ने गरीवार्ता स्थगित गरिएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
वार्ताका क्रममा आन्दोलनरत पक्षबाट केबलकार निर्माण स्थगित र पक्राउ परेकालाई रिहा गर्नुपर्नेलगायत माग प्रस्तुत भएको उनले बताए ।
गत माघ १२ गते ताप्लेजुङको फुङलिङ नगरपालिका–११, बलुडाँडामा झडप भएपछि आन्दोलन उग्र बनेको थियो ।