०६ असार २०८३, शनिबार

महिला फ्यानभन्दा पहिले उदितले यी गायिकालाई पनि गरेका थिए चुम्बन, पुरानो भिडियो भाइरल

माघ २२, २०८१
काठमाडौं
महिला फ्यानभन्दा पहिले उदितले यी गायिकालाई पनि गरेका थिए चुम्बन, पुरानो भिडियो भाइरल

बलिउडका चर्चित गायक उदित नारायण झा अहिले विवादमा छन्। हालै सार्वजनिक भएको एक भिडियोमा उनी महिला प्रशंसकलाई ओठमै चुम्बन गरिरहेको देखिन्छ। 

उक्त भिडियोले सामाजिक सञ्जालमा सनसनी मच्चाएको छ। उदितले आफूले कुनै नराम्रो काम नगरेको भन्दै बचाउ गरिरहेका छन्। उनले भनेका छन्, ‘फ्यानहरू दिवाना हुन्छन्, यसमा यति धेरै ध्यान दिनु आवश्यक छैन।’

लाइभ कन्सर्टका क्रममा एक महिला फ्यानलाई चुम्बन गरेपछि उदित सामाजिक सञ्जालमा तीव्र आलोचनाको सामना गरिरहेका छन्। उदित  ‘टिप टिप बरसा पानी’ गीत गाइरहेका बेला केही महिला प्रशंसकहरू स्टेज नजिक आएर सेल्फी लिइरहेका थिए। सेल्फी खिचेपछि गायकले ती महिला फ्यानलाई ओठमै चुम्बन गरे। यो दृश्य सार्वजनिक भएपछि व्यापक चर्चा र विवाद उत्पन्न भयो।

तर, यो विवाद चलिरहेकै बेला उदित नारायणका पुरानो भिडियोहरू पनि भाइरल भएका छन्। उक्त भिडियोमा उनी चर्चित गायिका श्रेया घोषाल, अलका याग्निक र करिश्मा कपूरलाई अचानक चुम्बन गरिरहेको देखिन्छ। 

स्टेजमै श्रेया घोषाल र अलका याग्निकलाई चुम्बन
भाइरल भिडियोमा उदित नारायण स्टेजमा देखिन्छन्। श्रेया घोषाल अवार्ड लिन आउँछिन्, त्यति नै बेला उदितले अचानक उनको गालामा चुम्बन गरिदिन्छन्। श्रेया यस घटनाबाट निकै अचम्मित देखिन्छिन्, किनकि उनलाई यस्तो केही हुने अपेक्षा थिएन।

त्यस्तै, उनले अलका याग्निकलाई पनि चुम्बन गरिरहेको देखिन्छ। यसैगरी, करिश्मा कपूरलाई समेत उदितले चुम्बन गरेको भिडियो अहिले भाइरल भइरहेको छ । ती भिडियोहरूमा उदितको हर्कतले ती  गायिकाहरूले असहज महसुस गरिरहेको देख्न सकिन्छ । 

अहिले  सामाजिक सञ्जालमा उदितलाई व्यापक रूपमा ट्रोल गरिँदैछ । एक प्रयोगकर्ताले लेखेका छन्, ‘उदितजी गीतसँगै अरू कुरामा पनि धेरै नै बहकिनुभएको छ जस्तो छ।’

अर्का प्रयोगकर्ताले ‘ठरकी’ भनी टिप्पणी गरेका छन् । अर्का एक जनाले त ‘अब छिट्टै उदित नारायणको डिभोर्सको खबर आउनेछ’ भनेका छन्।

त्यस्तै, अर्का प्रयोगकर्ताले ‘आदित्य, आफ्ना पापा सम्हाल’ भन्दै उदितका छोरा आदित्य नारायणलाई व्यंग्य गरेका छन्।

के भन्छन् उदित नारायण ?
आइतबार उदित नारायणले बलिउड हङ्गामालाई दिएको अन्तर्वार्तामा यस विषयमा बोलेका छन् । उनले उक्त घटनालाई आफू र फ्यानहरूबीचको प्रेमको अभिव्यक्तिका रूपमा अर्थ्याएका छन् । 

उदितले यो घटनामा कुनै लज्जाबोध वा पछुतो नरहेको प्रस्ट पारेका छन् ।  यो कुनै गुप्त वा लाजमर्दो कुरा नभएको उनको भनाइ छ । उनले आफ्नो मन सफा रहेको दाबी समेत गरेका छन् । 

‘म लज्जित किन हुनुपर्छ ? के मेरो आवाजमा कुनै पछुतो वा दुःख सुनिन्छ ? बरु, म तपाईंसँग कुरा गर्दा हाँस्दैछु। यदि केही मानिसहरू मेरो प्रेमलाई गलत रूपमा बुझ्न चाहन्छन् भने, म त उनीहरूकै लागि दु:खी छु । तर, म उनीहरूलाई धन्यवाद दिन चाहन्छु, किनकि उनीहरूले मलाई पहिलेभन्दा अझै बढी चर्चित बनाइदिएका छन् ।’

salt training

कमेन्ट गर्नुहोस्