उत्तरी क्षेत्रबाट भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माणाधीन पक्की पुल १४ वर्षदेखि अलपत्र छ । करिब चार करोड खर्च भएपछि यो पुल निर्माण अलपत्र बनेको हो ।
लम्सुवाघाटमा विस. २०६७ सालबाट पुल निर्माण थालिएको थियो । ६ पिलरको बेस राखेपछि पुल निर्माण अलपत्र बनेको षडानन्द ६ का वडाध्यक्ष सुमन विसुन्केले बताए । 'पुल निर्माणको काम १४ वर्षबाट अलपत्र छ,' वडाध्यक्ष विसुन्केले भने, 'राज्यको करिब चार करोड खर्चपछि काम अलपत्र पारिएको अवस्था छ । यो पुल बनिदिए स्थानीयबासीलाई राहत हुने थियो ।'
यहाँ एक सय ७२ मिटर लामो पक्की पुल निर्माणका लागि काम थालिएको थियो । निर्माणको क्रममा नै अलपत्र बनेको पुल सम्पन्न गराउन राज्यले ध्यान दिनु पर्ने षडानन्द ६ का स्थानीयबासी सीताराम लम्सालले बताए । पुक्की पुल नहुँदा आवतजावतमा समस्या रहेको उनको भनाइ छ ।
निर्माण कम्पनीले २०६७ सालदेखि पुल निर्माण शुरू गरेको थियो । सम्झौताअनुसार पुल २०७० सालमा सक्नु पर्ने थियो । तर निर्माण कम्पनीले काममा ढिलाइ गरेपछि राज्यको तर्फबाट ठेक्का रद्द गरिएको सडक डिभिजन कार्यालय तुम्लिङटार प्रमुख शुभाञ्जन दाहालले जानकारी दिए ।
२०७८ सालमा ठेक्का रद्ध प्रक्रियामा गएपछि निर्माण कम्पनीले हालेको मुद्दा कार्यालयको पक्षमा फैसला भएको उनको भनाइ छ । अहिले कम्पनीको धरौटी बापतको ७७ लाख रकम रोक्का रहेको उनले जानकारी दिए ।