२९ असार २०८३, सोमबार
हुलाक टिकटमा गोलमाल

हुलाक टिकटको 'महाभारत'– अर्ब बढीको टिकट गोदाममा थन्क्याएर बर्सेनि करोडौंको छपाइ !​

५० देखि ५ सयसम्मका टिकट विभागलाई घाँडो, पूर्वराजावाला टिकट नष्ट गर्ने निर्णय भएन कार्यान्वयन
माघ २३, २०८१
काठमाडौं
हुलाक टिकटको 'महाभारत'– अर्ब बढीको टिकट गोदाममा थन्क्याएर बर्सेनि करोडौंको छपाइ !​

हुलाक सेवा विभागमा १ अर्बभन्दा बढी मूल्य बराबरको हुलाक टिकट वर्षौंदेखि थन्किएर प्रयोगविहीन बनेको पाइएको छ । आगामी ५० वर्षसम्मलाई पुग्ने गरी छापिएको टिकट स्टकमा प्रयोगविहीन भएपनि विभागले प्रत्येक वर्ष १० करोडभन्दा बढी मूल्यको टिकट छाप्ने गरेको छ ।

एकातर्फ स्टकमा भएका टिकट बिक्री नहुने अर्कातर्फ बर्सेनि करोडौं मूल्यका टिकट छाप्ने क्रम नरोकिँदा राज्यको करोडौं रुपैयाँ खेर गइरहेको छ । विभागबाट प्राप्त विवरणअनुसार २०८१ माघ २१ गतेसम्म विभागको मूल भण्डारमा १ रुपैयाँदेखि ५ सय रुपैयाँसम्म २१३ आइटमका १ अर्ब ३२ करोड ७१ लाख ५५ हजार ९६६ रुपैयाँ बराबरका टिकट थन्किएका छन् ।

स्टकमा रहेका कुल ४ करोड २२ लाख २१ हजार ६३१ थान टिकटमा १ रुपैयाँ, २ रुपैयाँ, ३ रुपैयाँ, ५ रुपैयाँ, ५ रुपैयाँ ४० पैसा, ६ रुपैयाँ, ७ रुपैयाँ, ८ रुपैयाँ, ९ रुपैयाँ, १० रुपैयाँ, ११ रुपैयाँ, १२ रुपैयाँ, १३ रुपैयाँ, १५ रुपैयाँ, १८ रुपैयाँ, २० रुपैयाँ, २५ रुपैयाँ, ३० रुपैयाँ, ३५ रुपैयाँ, ४० रुपैयाँ, ५० रुपैयाँ, ६० रुपैयाँ, १ सय रुपैयाँ, १२५ रुपैयाँ, २ सय रुपैयाँ र ५ सय रुपैयाँ अंकित मूल्य छ ।

विभागको विवरणअनुसार ३ करोड ७ लाख ४४ हजार ८५० रुपैयाँ अंकित मूल्यका ४२ लाख ३ हजार ६१० थान टिकट अहिले प्रयोगविहीन अवस्थामा छ । तर, स्टकमा १ अर्बभन्दा बढीको हुलाक टिकट थन्किएको पाइएको छ ।

सबैभन्दा घाँडो बन्यो ५ सय रुपैयाँको टिकट

नेपालको मौलिक गरगहना अंकित ५ सय रुपैयाँको टिकट विभागलाई सबैभन्दा घाँडो बनेको छ । ५ सय रुपैयाँ मूल्यअंकित ४ लाख ८० हजार ४८० थान टिकट अलपत्र छ । यसको कुल मूल्य २४ करोड २ लाख ४० हजार रुपैयाँ हुन आउँछ ।

त्यसैगरी, लोप भइसकेको जिराफअंकित २ सय रुपैयाँको हुलाक टिकट पनि प्रयोगविहीन अवस्थामा छ । ९ करोड २७ लाख ४ हजार रुपैयाँ बराबर अंकित मूल्य रहेको ४ लाख ६३ हजार ५२० थान टिकट प्रयोगविहीन अवस्थामा रहेको हो ।

त्यसैगरी, हुलाक टिकट प्रकाशन भएको १२५ वर्षगाँठ अंकित १२५ रुपैयाँको ४१ हजार ५ सय थान टिकट प्रयोगविहीन छ । उक्त टिकटको अंकित मूल्य ५१ लाख ८७ हजार ५ सय रुपैयाँ हुन्छ ।

त्यसैगरी, १ सय रुपैयाँका विभिन्न ५ आइटमका २५ लाख २८ हजार थान टिकट प्रयोगविहीन अवस्थामा छ, जसको अंकित मूल्य २५ करोड २८ लाख हुन्छ ।

चोयु हिमाल अंकित ३ लाख ४८ हजार ४० थान १ सयको टिकट, लोप भइसकेका गैँडा अंकित ४ लाख ६८ हजार थान १ सयको टिकट, ल्होत्से हिमाल अंकित ९ लाख ३६ हजार थान १ सयको टिकट, प्रथम प्रकाशित कागजी नोटअंकित ४ लाख ५६ हजार थान १ सयको टिकट र सगरमाथा अंकित ३ लाख २० हजार ४० थान १ सयको टिकट स्टकमा प्रयोगविहीन छ ।

त्यसैगरी, माछापुच्छ्रे र फेवातालअंकित ६० रुपैयाँको २ लाख ६२ हजार थान टिकट पनि प्रयोगविहीन अवस्थामा छ, जसको अंकित मूल्य १ करोड ५७ लाख २० हजार रुपैयाँ छ ।

त्यसैगरी, ५० रुपैयाँको टिकट पनि प्रयोग नभएर स्टकमा थन्किएको छ ।

विभिन्न ८ आइटमको ५० रुपैयाँको कुल २६ लाख २२ हजार ५ सय थान टिकट स्टकमा छ, जसको अंकित मूल्य १३ करोड ११ लाख २५ हजार रुपैयाँ हुन्छ ।

बुद्ध तिमाल जात्राअंकित १ लाख ९६ हजार ८२० थान, हात्तीको जीवावशेष अंकित ३ लाख ९१ हजार ६४० थान, नेपाल अंकित २ लाख ७२ हजार २२० थान ५० रुपैयाँको टिकट वर्षौंदेखि स्टकमा प्रयोगविहीन अवस्थामा छ ।

त्यसैगरी, वनमान्छेको जीवावशेष अंकित ४ लाख ७ हजार ६४० थान, जिराफको जीवावशेष अंकित ४ लाख १९ हजार ६ सय थान, मनकामना केबुलकार अंकित १ लाख ७७ हजार २४० थान, नेपाल–इजरायल सम्बन्ध अंकित ४१ हजार ८४० थान र नेपाल रेडक्रसको ५० वर्ष अंकित ७ लाख १५ हजार ५२० थान ५० रुपैयाँको टिकट पनि प्रयोगविहीन अवस्थामा छ ।

विभागले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा रामप्रसाद राईको तस्वीरअंकित १० रुपैयाँको १ लाख ७९ हजार ९६० थान टिकट प्रयोग हुन नसक्ने (नन युजेबल) भनिएको छ । उक्त टिकटको अंकित मूल्य १७ लाख ९९ हजार ६ सय रुपैयाँ रहेको छ ।

२०७२ सालमा तत्कालीन सञ्चार मन्त्री शेरधन राईले रामप्रसाद राईको नाममा १० रुपैयाँ का १० लाख हुलाक टिकट छाप्ने निर्णय गरेका थिए । तत्कालीन मन्त्री राईकै सिफारिशमा हुलाक टिकट छाप्नैपर्ने सूचीमा रामप्रसाद राईको नाम सिफारिश गरेपछि इन्डोनेसियाको सेक्युरिटी प्रेसमा १ लाख ८० हजार थान टिकट छापिएको थियो । त्यति टिकट छापिएपछि राईलाई नेपाल सरकारले शहीद घोषणा नै नगरेको भन्ने तथ्य बाहिरिएको थियो ।

राईको नाममा २०५५ सालमा ७५ पैसाको हुलाक टिकट पनि छापिएको थियो । तर, पछि शहीद भनेर १० रुपैयाँको टिकट छाप्ने निर्णय गरिएकोमा भने बिक्री नगर्ने भनेर रोकिएको थियो ।

त्यही १० रुपैयाँको १ लाख ७९ हजार ९६० थान टिकट अब प्रयोग गर्न नमिल्ने भनेर विभागको स्टकमा थन्किएको छ । माथि उल्लेख गरिएका १ सयदेखि ५ सय रुपैयाँसम्मका हुलाक टिकट विगतमा छापिए पनि अहिले त्यसको उपभोक्ता नभएको, प्रयोग गर्ने अवस्था नभएको हुनाले प्रयोगविहीन भएको हो ।

हुलाक सेवा विभागका प्रवक्ता विशाल सापकोटा पनि झन्डै १०/१२ वर्षअघि छापिएका ५० देखि ५ सय रुपैयाँसम्मका टिकट प्रयोगविहीन भएका कारण अब कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता रहेको बताउँछन् ।

‘अहिले अधिकांश प्रयोग हुने भनेको १० रुपैयाँको टिकट मात्र हो । ५०, ६०, १ सय, १ सय २५, २ सय र ५ सय रुपैयाँको टिकट नै सबैभन्दा बढी प्रयोगविहीन भएको अवस्था छ,’ प्रवक्ता सापकोटाले लोकान्तरसँग भने, ‘त्यतिबेला कुनै न कुनै कारणले नै छापिएको हुनुपर्छ, तर पछि त्यसको माग नभएपछि अहिले प्रयोगविहीन अवस्थामा आइपुगेको हो ।’

त्यतिबेला विभिन्न अदालतमा कोर्ट फीको रूपमा ५ सय रुपैयाँको हुलाक टिकट प्रयोग हुने गरेकाले ५ सय रुपैयाँको हुलाक टिकट छापिएको उनले बताए ।

‘तर, पछि अदालतले कोर्ट फीको रूपमा हुलाक टिकट नलिएर आफैं रसिद काटेर महसुल बुझ्न थालेपछि ५ सय रुपैयाँको टिकट प्रयोगविहीन हुन पुगेको हो,’ सापकोटाले थपे, ‘अहिले पुनः हाम्रो महानिर्देशक मनमाया भट्टराई पंगेनी म्यामले अदालतमा ती ५ सय रुपैयाँका टिकटलाई प्रयोग गर्न सकिन्छ कि भनेर पहल गरिरहनुभएको छ ।’

null

null

null

null

स्टकमा रहेका हुलाक टिकटको विवरण

पूर्वराजाका तस्वीरअंकित टिकट नष्ट गर्ने सरकारको निर्णय, तर भएन कार्यान्वयन

त्यसबाहेक गणतन्त्र आएपछि पूर्वराजा/महाराजाको तस्वीरअंकित हुलाक टिकट नष्ट गर्ने भनेर मन्त्रिपरिषदबाट निर्णय भए पनि नष्ट हुन सकेको छैन ।

विभागका सूचना अधिकारी ध्रुवराज आचार्यका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा पूर्वराजा/ महाराजाको तस्वीर तथा त्यससम्बन्धी कुनै पनि अन्य चित्रअंकित टिकट नष्ट गर्ने भनेर नेपाल सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेको थियो ।

२ करोड ८९ लाख ४५ हजार २५० रुपैयाँ अंकित मूल्य भएको कुल ४० लाख २३ हजार ६५० थान पूर्वराजाका चित्रअंकित टिकट नष्ट गर्ने निर्णय नेपाल सरकारले गरेको थियो । जसमध्ये विभागबाट प्राप्त विवरणमा श्रीपेच (राजमुकुट) अंकित १ रुपैयाँको २ हजार थान हुलाक टिकट नष्ट गर्ने निर्णय सरकारले गरेको थियो ।

त्यसैगरी, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको चित्रअंकित २ रुपैयाँको ९ लाख ९९ हजार ९५० थान टिकट नष्ट गर्ने निर्णय पनि गरिएको थियो, जसको अंकित मूल्य १९ लाख ९९ हजार ९ सय रुपैयाँ हुन्छ ।

त्यसैगरी, पूर्वराजा बहादुर शाहको तस्वीरअंकित ६ रुपैयाँको ७ लाख ६३ हजार ९ सय थान टिकट नष्ट गर्ने निर्णय गरिएको थियो, जसको मूल्य ४५ लाख ८३ हजार ४ सय रुपैयाँ हुन्छ ।

त्यसैगरी, पूर्वराजा वीरेन्द्र शाहको तस्वीरअंकित ८ रुपैयाँको १६ लाख ४३ हजार ५० थान टिकट पनि नष्ट गर्ने निर्णय गरिएको थियो, जसको अंकित मूल्य १ करोड ३१ लाख ४४ हजार ४ सय रुपैयाँ हुन्छ । पूर्वराजा वीरेन्द्रकै तस्वीरअंकित ९ रुपैयाँको टिकट २ लाख ७९ हजार ९५० थान नष्ट गर्ने निर्णय भएको थियो, जसको अंकित मूल्य २५ लाख १९ हजार ५५० रुपैयाँ हुन्छ ।

त्यसैगरी, पूर्व मुमा बडामहारानी रत्नराज्यको तस्वीरअंकित २० रुपैयाँको ३ लाख ३४ हजार ८ सय थान टिकट पनि नष्ट गर्ने निर्णय भएको थियो, जसको अंकित मूल्य ६६ लाख ९६ हजार रुपैयाँ हुन्छ ।

हुलाक सेवा विभागका प्रवक्ता विशाल सापकोटा भने विगतमा मन्त्रिपरिषदबाट पूर्व राजाहरूको तस्वीरअंकित हुलाक टिकट नष्ट गर्ने निर्णय भएपनि अहिलेसम्म नष्ट नभएको बताउँछन् ।

‘नष्ट गर्ने कि पहिलेको इतिहास त हो नि भनेर संग्रहालयमा संग्रहित गरेर राख्ने भन्ने विषयमा समेत पछि कुरा आएकाले सरकारले नै नष्ट गर्ने निर्णय गरेको भएपनि अहिलेसम्म कार्यान्वयन गरिएको छैन,’ सापकोटाले लोकान्तरसँग भने ।

अहिले मुख्यरूपमा १० रुपैयाँको टिकट प्रयोग हुन्छ । त्यसमा पनि अहिले उपभोक्ताले भौतिकरूपमा टिकटको साटो गोश्वारा हुलाक कार्यालयले उपलब्ध गराएको बारकोड प्रयोग गर्न थालेका छन् ।

‘स्टकमा रहेको ती टिकटहरू ५० वर्षसम्म प्रयोग गर्दा पनि नसकिने अवस्थामा देखिन्छ,’ विभागका एक कर्मचारीले लोकान्तरसँग भने, ‘विगतमा सबै हुलाक टिकटहरू विदेशमा छापिन्थ्यो । विदेशी कम्पनीलाई ठेक्का दिँदा कमिसन आउनुका साथै निरीक्षण/अनुगमन गर्न जाने नाममा पटक–पटक विदेश भ्रमण गर्न पाइने भन्ने लोभका कारण १ अर्बभन्दा बढी रकमका हुलाक टिकटहरू अहिले रद्दीमा परिणत भएको छ ।’

विगतमा भारत, बंगलादेश, लाटभिया, नेदरल्यान्ड र इन्डोनेसियाका कम्पनीसँग ठेक्का सम्झौता गरी हुलाक टिकट छापिने गरेको थियो । सन् २०१९ देखि २०२२ सम्म ६० प्रकारका हुलाक टिकट इन्डोनेसियाको पेरुम पेरिरी नामक कम्पनीसँग ठेक्का सम्झौता गरी छापिएको विभागकी कला अधिकृत पूर्णकला लिम्बुले बताइन् ।

झन्डै ६ करोड थान हुलाक टिकट सो कम्पनीबाट छापिएको उनले बताइन् । बढीमा ८५ पैसा प्रतिटिकट छाप्ने गरी ग्लोबल टेन्डर गर्दा सबैभन्दा कम रकम प्रस्ताव गरेको कम्पनीलाई ठेक्का परेको उनले बताइन् ।

उक्त कम्पनीको ठेक्का सम्झौता अन्त्य भएको ३ वर्ष हुन लाग्दा गत मंसिरमा मात्र टिकट छाप्नका लागि बनाइएको प्लेट नष्ट गरिएको छ ।

महानिर्देशक मनमाया भट्टराई पंगेनी, लेखा अधिकृत गोपाल आचार्य र कला अधिकृत पूर्णमाया लिम्बू गत मंसिरमा इन्डोनेसिया पुगेर प्लेट नष्ट गराएका हुन् ।

‘इन्डोनेसियामा ५ रुपैयाँ, १० रुपैयाँ र २० रुपैयाँको ६० प्रकारका टिकटहरू छापिएको थियो । त्यसका लागि झन्डै १ सयवटा जति प्लेटहरू थिए,’ लिम्बूले लोकान्तरसँग भनिन्, ‘कोभिडका कारण इन्डोनेसिया जान नसकिएकाले प्लेट नष्ट गर्ने कार्य गर्न सकिएको थिएन ।’

प्लेट नष्ट गरेको तस्वीर

इन्डोनेसियाअघि बंगलादेशमा समेत छापिएको प्लेट केही महिनाअघि मात्र नष्ट गरिएको उनले खुलाइन् ।

‘बंगलादेशमा धेरैअघि नै छापिएको हुलाक टिकटको प्लेट हामीले नष्ट गराउन सकेका थिएनौं,’ उनले थपिन्, ‘त्यहाँबाट प्रतिनिधि पठाइदिन पटक–पटक भने पनि जान सकिएको थिएन । त्यहाँका प्रधानमन्त्री शेख हसिना पदच्युत भएर भारत आएको समयतिर हामीले ढाकास्थित हाम्रो राजदूतावासका कर्मचारीलाई पठाएर ती प्लेट नष्ट गराएका छौं ।’

टिकटमा हुने सेक्योरिटी फिचरका कारण विगतमा विदेशमा टिकट छापिने गरेको भएपनि गत वर्षदेखि हुलाक टिकट नेपालमै छापिन थालेको छ । जनक शिक्षा सामग्री केन्द्रसँग २०८० कात्तिक ३० मा फरक–फरक ४ डिजाइनका १० रुपैयाँअंकित टिकट छाप्ने सम्झौता भएको थियो ।

विभागका सूचना अधिकारी आचार्यका अनुसार चालू आर्थिक वर्षमा टिकट छाप्न डेढ करोड रुपैयाँ बजेट रहेकोमा १ करोड २० लाख जतिको टिकट छाप्ने अनुमान गरिएको छ ।

‘प्रतिटिकट ९५ पैसा र १३ प्रतिशत भ्याटसहित गरी कुल १ रुपैयाँ ७ पैसामा टिकट छाप्ने सम्झौता गरी जनक शिक्षा सामग्री केन्द्रलाई जिम्मा दिइएको छ,’ आचार्यले थपे, ‘केन्द्रले अहिलेसम्म २० लाख टिकट छापिसकेको छ भने अर्को सातासम्ममा थप १० लाख टिकट छापिएर आइसक्नेछ ।’

विभागका प्रवक्ता सापकोटा १० रुपैयाँको टिकटको माग अत्यधिक भएकाले हरेक वर्ष विभाग टिकट छाप्न बाध्य भएको बताउँछन् । ‘पहिलेको स्टकको टिकट अहिले प्रयोग गर्न सकिएको छैन । १० रुपैयाँको टिकट पनि नछाप्ने हो भने त बजारको माग थेग्नै नसक्ने स्थिति आएर हाहाकार हुन्छ,’ सापकोटाले थपे, ‘त्यसैले हरेक वर्ष झन्डै १ देखि डेढ करोड थान टिकट छाप्नुपरेको हो ।’

स्टकमा प्रयोगविहीन रहेका टिकट कहिले तथा कसको कार्यकालमा छापिएको थियो भन्ने कुराको अभिलेख विभागसँग छैन ।

‘विगतमा छुट्टै फिलाटेलिक ब्यूरो थियो । त्यही ब्यूरोअन्तर्गत फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालय थियो । त्यहीँबाट सबै काम हुने गरेको थियो,’ सापकोटाले थपे, ‘तर, अहिले त्यो कार्यालय विघटन भएर चालू आर्थिक वर्षमा विभागमा एउटा शाखा मात्र रहेकाले सबै विवरण भेटाउन नसक्ने स्थिति छ ।’

हुलाक टिकट प्रकाशन निर्देशिका, २०७० मा ‘हुलाक टिकट प्रकाशन गर्दा प्रकाशन हुने संख्या र सोको प्रति इकाई महसुल विभागले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हुलाक महसुल दर र सेवाग्राहीको माग समेतलाई विचार गरी प्रकाशन गरिने टिकटमा दर तोक्नेछ,’ भन्ने उल्लेख छ ।

तर, निर्देशिकामा उक्त प्रावधान भएपनि विगतमा संख्या यकिन नगरेकै कारण अहिले करोडौं थान हुलाक टिकट प्रयोगविहीन भएको हो ।

सरकारी र औपचारिक कागजातमा हुलाक टिकटको प्रयोग गरिँदैआएको छ । सामान पठाउँदा हुलाक टिकटलाई रसिदको रूपमा प्रयोग गर्ने गरिएको छ ।

तर, अहिले टिकटको साटो बारकोड प्रयोग गर्ने क्रम बढेकाले टिकटको माग कम हुन थालेको छ ।

salt training

कमेन्ट गर्नुहोस्