०६ असार २०८३, शनिबार

एकीकृत निर्वाचन विधेयक सङ्घीय संसद्मा यथाशीघ्र पेस गर्न सरकारलाई निर्देशन

माघ २३, २०८१
काठमाडौं
एकीकृत निर्वाचन विधेयक सङ्घीय संसद्मा यथाशीघ्र पेस गर्न सरकारलाई निर्देशन

 सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी सङ्घीय संसद्मा यथाशीघ्र पेस गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । 

राष्ट्रिसभाअन्तर्गतको यस संसदीय समितिका सभापति सोनाम गेल्जेन शेर्पाले आजको बैठकले उक्त निर्णय गरेको जानकारी दिनुभयो । बैठकले निर्वाचन आयोगको रिक्त निर्वाचन आयुक्त पदमा यथाशीघ्र नियुक्ति गर्नसमेत सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । 
    
नेपालको निर्वाचन प्रणालीका सम्बन्धमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरु रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधर र सगुन जवरालगायतको  उपस्थितिमा छलफल भएको थियो । 
    
प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दलसम्बन्धी ऐन, निर्वाचन व्यवस्थापन ऐन र निर्वाचन आयोग ऐनमा सुधार गरेर विद्यमान प्रणालीको सुदृढीकरण र निर्वाचन व्यवस्थापन प्रक्रियामा सुधार गर्ने धारणा राखे ।  “परिस्कृत र गतिलो कानुन बनाएर २०८४ को निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध छ”, उनले भने । उनले निर्वाचनमा प्रविधिको प्रयोग महँगो पर्ने भन्दै संवेदनशीलताका आधारमा पनि कागजी मतपत्र प्रयोग गर्न सहज हुने राय व्यक्त गरे ।
    
निर्वाचन प्रणाली सुधारका लागि आयोगको धारणा प्रस्तुत गर्दै उनले संविधानको मर्मअनुसार प्रत्यक्षतर्फ कम्तीमा एक तिहाइ महिला उम्मेदवारी दिनेगरी कानुनी व्यवस्था गरिएमा समानुपातिकतर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व हुन नसकेको वर्ग समुदाय र लिङ्गको प्रतिनिधित्व सुनिश्चित गर्न सकिने बताए । 
     
निर्वाचन प्रणाली कस्तो हुने भन्ने राजनीतिक विषय भएको बताउँदै उनले संविधान संशोधनको माध्यमद्वारा मात्र परिमार्जन गर्न सकिने हुँदा बृहत् र तुलनात्मक अध्ययन गरेर आमसहमतियुक्त धारणासहित निर्वाचन प्रणालीमा संशोधन उपयुक्त हुने धारणा राखे । 
    

salt training

कमेन्ट गर्नुहोस्