
मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित चौथो अन्तरराष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको पहिलो क्वाटरफाइनल खेलबाट आयोजक विराट भेट्रानको ‘ए’ टोली सेमिफाइनलमा प्रवेश गरेको छ ।
बाइ पाएर सिधै खेलेको आयोजक टोलीले सुनसरीको हाम्रो धरान भेट्रानलाई ०-२ गोलले पराजित गरेको हो ।
खेलको ‘म्यान अफ दी म्याच’ विराट भेट्रानबाट सुरज श्रेष्ठ घोषित भए । विजयी आयोजकको ‘ए’ टोलीले माघ २५ गते दूधे भेट्रान झापासँग सेमिफाइनलको खेल खेल्नेछ । दूधे भेट्रान सिक्किमको एनआरसी भेट्रानलाई पराजित गरी अघिल्लो चरणमा प्रवेश गरेको थियो ।
प्रतियोगिताको विजेताले नगद रु एक लाख एक हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । उपविजेताले नगद रु ५० हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यही माघ २६ गते हुनेछ ।
गोल्डकपमा स्वदेशका आठ तथा विदेशका दुई गरी दश भेट्रान टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको बिहीबारको खेल ‘जी जे युनाइटेड’ भेट्रान दार्जिलिङ र आयोजक विराट भेट्रान ‘बी’बीच हुने खेलका आर्थिक संयोजक दुर्गाकुमार श्रेष्ठले जानकारी दिए ।