०३ साउन २०८३, आइतबार

पूर्वाधार निर्माणका लागि सरकारले ऋण नै लिनु हुँदैन भन्ने चिन्तन विकास विरोधी : पोखरेल

माघ २४, २०८१
काठमाडौं
पूर्वाधार निर्माणका लागि सरकारले ऋण नै लिनु हुँदैन भन्ने चिन्तन विकास विरोधी : पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारी ऋणको विषयमा भइरहेको बहसलाई विकास विरोधी मानसिकताको संज्ञा दिएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले ‘ऋण लिनुहुँदैन’ भन्ने मानसिकता विकास विरोधी भएको टिप्पणी गरेका हुन् ।

केही समूहले नेपाललाई ऋणको पासोमा पारिएको दाबी गर्दै आएकोप्रति उनले आपत्ति जनाए । 

विकासका लागि सरकारको पूँजी परिचालन आवश्यक हुने उनको भनाइ छ । उनले तीव्र विकास र ठूला पूर्वाधार निर्माणका लागि सरकारद्वारा लिइने ऋण स्वाभाविक हुने उल्लेख गरेका छन्।

'नेपाललाई ऋणको पासोमा डुबाएको आरोप लाग्ने गरेको छ । आय र व्ययबीचमा सन्तुलन कायम गर्न आन्तरिक र वाह्य ऋण लिने प्रचन सबैतिर हुन्छ । तर त्यसको सदुपयोग कि दुरुपयोग भन्ने विषय मुख्य कुरा हो,' उनले लेखेका छन्, 'ऋण नै लिनु हुँदैन भन्नु नेपाललाई सदैव पछि धकेल्ने कोशिस हो । यो प्रकारको चिन्तन विकास विरोधी हो । अझ आफूलाई विकासको हिमायती र योजनाकारका रूपमा चित्रण गर्नेहरूले नै ऋणको त्रास सिर्जना गर्नु त झनै उदेक लाग्दो कुरा हो ।'

महासचिव पोखरेलले नेपालमा सरकारी ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी)को ४० प्रतिशत हाराहारीमा रहेको जानकारी दिएका छन् । नेपाल दक्षिण एसियामै कम सरकारी ऋण भएको मुलुक रहेको उनको भनाइ छ । 'नेपाललाई ऋणको पासोमा डुबाएको भनेर हल्ला गरिँदैछ। तर, नेपालमा अन्य देशहरूको तुलनामा निकै कम सरकारी ऋण छ,' उनले लेखेका छन् ।

उनले अमेरिका र जापानको उदाहरण दिँदै ती देशहरूमा सरकारी ऋण जीडीपीको क्रमशः १२५ प्रतिशत र २३६ प्रतिशतभन्दा बढी रहेको तथ्य उल्लेख गरेका छन् । 'नेपालभन्दा कयौं गुणा बढी सरकारी ऋण भएका मुलुकमा सरकार ऋणमा डुब्यो भन्ने हल्ला हुँदैन, तर नेपालमा अनावश्यक भ्रम सिर्जना गर्ने प्रयास भइरहेको छ,' उनले थपे।

 

salt training

कमेन्ट गर्नुहोस्